सिलगढी: सिलगढीस्थित सालुगाडा बजारमा व्यापारीहरूसँग जबरजस्ती चन्दा असुली र कुटपिट गरेको अभियोगमा तृणमूल कांग्रेस (टीएमसी) का नेता सञ्जय लिम्बू पक्राउ परेका छन्। भक्तिनगर पुलिसले उनलाई नियन्त्रणमा लिई विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गर्दै जलपाइगुडी अदालतमा पेस गरेको छ।
प्राप्त विवरणअनुसार टीएमसी नेता सञ्जय लिम्बू र उनका सहयोगीहरूले सालुगाडा बजारका व्यापारीहरूबाट लामो समयदेखि बजार शुल्क असुल गर्दै आएका थिए। तर, यस पटक सिलगाढी नगर निगमले उक्त बजारको सरसफाइ र शुल्क असुलीको टेन्डर रञ्जित परिडा नामका व्यक्तिलाई दिएको थियो। टेन्डर अर्कै व्यक्तिले पाए तापनि लिम्बूले आफ्ना समर्थकहरूसँगै बजार पुगेर व्यापारीहरूबाट जबर्जस्ती रकम असुल गर्न छाडेका थिएनन्, जसका कारण पछिल्ला केही दिनदेखि बजारमा तनाव उत्पन्न भइरहेको थियो।
सोमबार साँझ टेन्डरपट्टा पाएका रञ्जित परिडाले बजारमा रसिद काटेर शुल्क उठाइरहेका बेला सञ्जय लिम्बू आफ्ना समर्थकहरूसहित पुगेर आक्रमण गरेका थिए। आक्रमणबाट परिडा घाइते भएका छन्।
उक्त घटनालगत्तै परिडाले भक्तिनगर पुलिस चौकीमा लिखित उजुरी दर्ता गराएपछि पुलिसले लिम्बूलाई पक्राउ गरेको हो।
मङ्गलबार आरोपीलाई अदालतमा पेस गरी पुलिसले घटनाको थप अनुसन्धान अघि बढाएको छ।










