१० शव बरामद, उद्धार कार्य जारी
गान्ताेक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले नाम्ची जिल्लास्थित समरदुङ क्षेत्रमा रहेको निर्माणाधीन सुरुङ दुर्घटनाको ‘ग्राउन्ड जिरो’ (घटनास्थल) पुगेर प्रत्यक्ष निरीक्षण गरेका छन्। मङ्गलबार राज्यपाल माथुरले तीस्ता स्टेज-६ जलविद्युत् आयोजनाको टनेलमा पुगी जारी राहत तथा उद्धार कार्यको विस्तृत समीक्षा गरेका हुन्। उक्त अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि घटनास्थलमा उपस्थित थिए।
प्राप्त जानकारी अनुसार एनएचपीसी तीस्ता स्टेज-६ आयोजनाको सुरुङभित्र सोमबार अचानक संदिग्ध मिथेन ग्यास विस्फोट भएको थियो। ग्यास विस्फोटका कारण सुरुङभित्र बाक्लो धुवाँ र विषैलो ग्यास फैलिएको छ।
जिल्ला प्रशासनको पछिल्लो प्रतिवेदन अनुसार सुरुङभित्रबाट हालसम्म १० जनाको शव बरामद गरिएको छ। अझै पनि केही श्रमिक तथा अधिकारीहरू भित्र थुनिएको आशङ्का गरिएको छ। उनीहरूलाई सुरक्षित बाहिर निकाल्न जिल्ला प्रशासन, एनडीआरएफ, एसडीआरएफ, सिक्किम प्रहरी, आईआरबी र अन्य आपत्कालीन एजेन्सीहरू निरन्तर उद्धारमा खटिएका छन्।
घटनास्थलको निरीक्षणपछि राज्यपाल माथुरले आपत्कालीन व्यवस्थापन टोलीलाई पूर्ण तत्परताका साथ उद्धार कार्यमा जुट्न र घाइतेहरूलाई सम्भव भएसम्मका सबै उत्कृष्ट स्वास्थ्य सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्। यस दुखद् घडीमा सम्पूर्ण राज्य एकजुट भई प्रभावित परिवारलाई साथ दिनुपर्ने बताउँदै उनले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै थुनिएकाहरूको सुरक्षित उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।











