सोरेङ: महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभाग, सोरेङ जिल्लान्तर्गत रहेको ‘डिस्ट्रिक्ट हब फर एम्पोवरमेन्ट अफ वुमन’ (डीएचईडब्ल्यू) को आयोजनामा लुङचोक–सालाङदाङ जिपियू (जीपीयू) मा आधार दर्ता तथा सुकन्या समृद्धि खाता खोल्ने कार्यक्रम सम्पन्न भएको छ।
बुधबार आयोजित उक्त कार्यक्रममा साना बालबालिकाहरूको नयाँ आधार कार्ड दर्ता, योग्य बालिका (कन्या) हरूका लागि सुकन्या समृद्धि योजनाको खाता खोल्ने तथा इन्डिया पोस्ट पेमेन्ट्स बैंक (आईपीपीबी) को खाता खोल्ने सेवा प्रदान गरिएको थियो।
डाकघरका प्रतिनिधिहरू जोरेथाङका बीपीएम प्रभात थापा, सोरेङकी बीपीएम माधवी पवन र सोमबारेकी बीपीएम शान्तकला सेवाले दर्ता प्रक्रिया सम्पन्न गर्नुभएको थियो। सो अवसरमा सोरेङ डाकघरकी बीपीएम माधवी पवनले हुलाकद्वारा सञ्चालित विभिन्न बचत योजनाहरू र तिनका फाइदाहरूबारे उपस्थित स्थानीयहरूलाई विस्तृत जानकारी गराउनुभयो।
कार्यक्रममा बाल विकास परियोजना अधिकारी (सीडीपीओ) एवं उपनिर्देशक गौरी तामाङ, सोमबारे सुपरभाइजर सरस्वती प्रधान, डीएचईडब्ल्यू का जिल्ला मिसन संयोजक (डीएमसी) नुतन लेप्चा, डीएचईडब्ल्यू का कर्मचारीहरू तथा सोमबारेका आँगनबाडी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्थानीय बालबालिका तथा अभिभावकहरूको सक्रिय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।










