स्टेट स्पोर्ट्स एकेडेमी र आर्क एकेडेमी विजयी
पाकिम: भारतको ८०औँ स्वतन्त्रता दिवस २०२६ को अवसरमा सिक्किमको पाकिमस्थित सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा जारी खुला नकआउट फुटबल प्रतियोगिताको पाँचौँ दिन विभिन्न खेलहरू सम्पन्न भएका छन्। पाकिम डिस्ट्रिक्ट एडमिनिस्ट्रेटिभ सेन्टरको सहकार्यमा पाकिम स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगितामा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ।
बुधबार आयोजित खुला नकआउटतर्फको खेलमा स्टेट स्पोर्ट्स एकेडेमी गान्तोकले स्ट्राइबर्सलाई टाइब्रेकरमा ३-१ गोलअन्तरले पराजित गर्दै अघिल्लो यात्रा तय गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका जिग्मे भुटिया ‘म्यान अफ द म्याच’ घोषित भए।
यसैगरी, सोही अवसरमा आयोजित ८०औँ स्वतन्त्रता दिवस जिल्लास्तरीय अन्तरविद्यालय यु-१४ छात्र फुटबल प्रतियोगिताअन्तर्गत आर्क एकेडेमीले रोराथाङ सिनियर सेकेन्डरी स्कुललाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ।
प्रतियोगिताअन्तर्गत विभिन्न क्लब, संघ-संस्था तथा स्थानीय समूहहरूबीच नकआउट डोरीतान (टग अफ वार) प्रतिस्पर्धा पनि सञ्चालन भइरहेको छ। कार्यक्रममा सेन्ट जेभियर्स स्कुल पाकिमका विद्यार्थीहरूले विशेष ब्यान्ड प्रदर्शन गरेका थिए।

सामाजिक कार्यकर्ता मिङ्मा ल्हामु भुटिया प्रमुख अतिथिका रूपमा उपस्थित रहेको उक्त कार्यक्रममा गान्तोक नगर निगमकी उपमेयर सारा ल्हामु, अन्तःशुल्क विभागका अध्यक्ष एम प्रसाद शर्मा र जिल्ला अध्यक्ष लाडेन ल्हामु भुटिया विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समारोहमा जिल्ला पञ्चायत अधिकारी (डीपीअाे) सोनाम जाङ्पो भुटिया, जिल्ला सहायक अभियन्ता (एई) जयन्त दुलाल, पञ्चायत प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।










