संसारकै १० महँगा ट्याङ्क: जर्मनीको लियोपार्ड २ए८ सबैभन्दा अगाडि, सूचीमा परेनन् भारत र पाकिस्तान​

0046ca17-6ee5-488c-89b6-88e3132adbc8

नयाँ दिल्ली: आधुनिक भू-युद्धमा निर्णायक मानिने मुख्य युद्धक ट्याङ्क (एमबीटी) हरूको मूल्य पछिल्लो समय ह्वात्तै बढेको छ। हालै सार्वजनिक रक्षा सम्झौता र बजार विश्लेषण अनुसार जर्मनीको लियोपार्ड २ए८ संसारकै सबैभन्दा महँगो ट्याङ्क बनेको छ। जर्मनीले स्वीकृत गरेको पछिल्लो बजेट र खरिद सम्झौता अनुसार प्रतिट्याङ्क मूल्य करिब ३१ मिलियन अमेरिकी डलर (करिब २९.२ मिलियन युरो) पर्न आउँछ। विश्वका १० सबैभन्दा महँगा ट्याङ्कहरूको सूचीमा अमेरिका र पश्चिमी राष्ट्रहरूकै वर्चस्व देखिएको छ भने भारत वा पाकिस्तानका कुनै पनि ट्याङ्क यस सूचीमा पर्न सकेका छैनन्।​महँगो ट्याङ्कको सूचीमा दोस्रो स्थानमा अमेरिकाको उन्नत एम१ए२ एसइपिभी३ अब्राम्स रहेको छ, जसको सम्झौता अनुसार प्रतिट्याङ्क मूल्य २४ मिलियनदेखि ४७ मिलियन डलरसम्म पर्छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको के२ ब्ल्याक प्यान्थरको औसत मूल्य १८.७ मिलियन डलर रहेको छ। त्यसैगरी फ्रान्सको एएमएक्स-५६ लेक्लेर १६ मिलियन डलर, टर्कीको अल्ताय ११.७५ देखि १३.७५ मिलियन डलर र इटालीको आरिएते सी२ एएमभी १०.३ मिलियन डलर लागतसहित शीर्ष सूचीमा अटाएका छन्।​सूचीको सातौँ स्थानमा रहेको जापानको टाइप १० ट्याङ्कको मूल्य ८.५ देखि १०.७ मिलियन डलरको बिचमा रहेको छ भने बेलायतको च्यालेन्जर ३ अपग्रेड ट्याङ्कको मूल्य ७.५ मिलियन डलर पर्छ। यस्तै रुसको टी-१४ अरमाटा ५ देखि ९ मिलियन डलर र इजरायलको चर्चित मर्कभा मार्क ४ ट्याङ्क प्रतिगोटा ६ मिलियन डलर लागतका साथ सूचीको अन्त्यमा रहेका छन्। सैन्य विज्ञहरूका अनुसार रक्षा प्रविधिको विकास, सुरक्षा प्रणाली र खरिद सम्झौताका सर्तहरूका कारण ट्याङ्कहरूको मूल्यमा व्यापक भिन्नता आउने गर्छ।

About Author

Advertisement