सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसले युवा पुस्तालाई जिम्मेवार र सचेत नागरिक बनाउने उद्देश्यका साथ बर्द्धमान रोडस्थित बिडला दिव्य ज्योति स्कुलमा एक विशेष सडक सुरक्षा तथा सामाजिक सचेतना कार्यक्रमको आयोजना गरेको छ।
अतिरिक्त पुलिस उपआयुक्त (ट्राफिक) पूर्णिमा शेर्पा तथा अन्य विभागीय अधिकारीहरूको उपस्थितिमा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थीहरूलाई सडक सुरक्षाका नियम, लागूपदार्थको दुर्व्यसनबाट बचिने उपाय, साइबर अपराध र पोक्सो कानुनका विविध पक्षबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूका बिच सडक सुरक्षासम्बन्धी हाजिरीजवाफ (कविज) प्रतियोगितासमेत सञ्चालन गरिएको थियो। प्रतियोगितामा उत्साहजनक सहभागिता जनाएका विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरी सम्मानित गरियो।
सिलगढी पुलिस कमिस्नर कार्यालयले यस्ता रचनात्मक कार्यक्रममार्फत लागूपदार्थमुक्त, साइबर-सुरक्षित र दुर्घटनामुक्त समाज निर्माणका लागि निरन्तर अभियान चलाउँदै आएको छ।









