ईटानगर: बङ्गलादेशको राजधानी ढाकामा जारी ‘१०औँ क्याडेट, जुनियर, यु-२१ तथा दक्षिण एसियाली सिनियर कराँते च्याम्पियनसिप २०२६’ मा अरुणाचल प्रदेशका ख्योदा तालिकले टिम काटा स्पर्धामा स्वर्ण पदक जितेका छन्।
नेपाल, भारत, बङ्गलादेशसहित दक्षिण एसियाली मुलुकका खेलाडीहरूको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै तालिकले भारतलाई स्वर्ण पदक दिलाएका हुन्।
तालुकको यस ऐतिहासिक सफलतापछि मुख्यमन्त्री पेमा खाण्डूले बधाई दिँदै उहाँको जितले सम्पूर्ण राज्य र देशलाई गौरवान्वित बनाएको बताएका छन्। मुख्यमन्त्री खाण्डूले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै लेखेका छन्, “कडा परिश्रम, अनुशासन र ठूला सपना देख्ने साहसबाट नै च्याम्पियनहरू बन्छन्। ख्योदा तालिकले अन्तर्राष्ट्रिय मञ्चमा देखाएको यो प्रदर्शनले हाम्रा खेलाडीहरू विश्वस्तरीय मञ्चका लागि सक्षम छन् भन्ने पुष्टि गरेको छ।”
मुख्यमन्त्री खाण्डूले यो सफलता राज्य सरकारले सञ्चालन गरिरहेको ‘चीफ मिनिस्टर्स एथलीट कोचिङ एण्ड एम्पायरमेन्ट स्किम’ (सिएम-एसेस) को सकारात्मक परिणाम भएको समेत उल्लेख गरेका छन्। यस योजनाअन्तर्गत राज्यका उदीयमान खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण र प्रोत्साहन प्रदान गरिँदै आएको छ।










