​टिस्टा सुरुङ दुर्घटना: बङ्गालका ४ श्रमिकको मृत्यु पुष्टि, मन्त्री लामाद्वारा घटनास्थलको निरीक्षण

FB_IMG_1784659304096

सिलगढी: सिक्किमको नामची जिल्लास्थित सामरदुङमा रहेको एनएचपीसी टिस्टा स्टेज-VI जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङमा भएको दुखद् दुर्घटनापछि पश्चिम बङ्गालका मन्त्री विशाल लामाले घटनास्थल पुगेर राहत तथा उद्धार कार्यको समीक्षा गरेका छन्।
​पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको निर्देशनमा राज्यमन्त्री विशाल लामा, विधायक पुना भेंग्रा तथा विपद् व्यवस्थापन एवं नागरिक सुरक्षा विभागका प्रधान सचिव राजेशकुमार सिन्हा र वरिष्ठ प्रशासनिक अधिकारीहरूसहित मङ्गलबार झोलुङ्गे पुगेका थिए। टोलीले सुरुङ दुर्घटनास्थलको प्रत्यक्ष अवलोकन गरी जारी उद्धार कार्यबारे विस्तृत जानकारी लिएको छ।
​प्राप्त आधिकारिक जानकारीअनुसार उक्त दुर्घटनामा परी पश्चिम बङ्गालका कूल १२ जना श्रमिक प्रभावित भएका छन्। तीमध्ये ४ जना श्रमिकको निधन भइसकेको पुष्टि भएको छ भने बाँकी ८ जना श्रमिकको पहिचान तथा अन्य आवश्यक कानुनी प्रक्रिया प्रशासनद्वारा अघि बढाइएको छ।
​मुख्यमन्त्री शुभेन्दु अधिकारीले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग टेलिफोन संवाद गरी घटनाबारे जानकारी लिनुका साथै राज्य सरकारका तर्फबाट आवश्यक सबै समन्वय र सहयोगको प्रतिबद्धता जनाएका छन्। मन्त्री लामाले मृतक श्रमिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। उनले उद्धार कार्यमा दिनरात खटिएका एनडीआरएफ, एसडीआरएफ, पुलिस तथा असानसोलको खानी सुरक्षा टोलीको सराहना गर्दै प्रभावित परिवारलाई हरसम्भव सहयोग पुर्‍याइने बताएका छन्।

About Author

Advertisement