गान्ताेक: शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदान र विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समर्पित शिक्षकहरूलाई सम्मान गर्दै रोटरी क्लब अफ ग्याङटोक साउथले ग्याङटोकस्थित होटल डेन्जोङ रिजेन्सीमा ‘रोटरी ज्ञानज्योति अवार्ड २०२६’ आयोजना गरेको छ।
सिक्किमभरिबाट उत्कृष्ट कार्य गर्दै आएका पाँच जना शिक्षकहरूलाई उनीहरूको निष्ठा र सेवाको कदर गर्दै यस वर्ष सम्मानित गरिएको हो। सम्मानित हुनेहरूमा सेन्ट जोसेफ स्कूल (मार्ताम) की ल्हामु छिरिङ, ईएमआरएएस (ग्याङयाप) का नामग्याल भुटिया, दोङ्गेग्याङ प्राथमिक विद्यालयका पासाङ फुटी लेप्चा, पुष्पञ्जली स्कूल (मामरिङ) का केदारनाथ रेग्मी र पीएम श्री मोडल सिनियर सेकेन्डरी स्कूलकी प्रिम्युला तामाङ रहेका छन्।
कार्यक्रमका मुख्य अतिथि तथा ग्रामीण विकास विभागका मन्त्री अरुणकुमार उप्रेतीले पुरस्कार विजेता शिक्षकहरूलाई बधाई दिँदै समाजको उज्ज्वल भविष्य निर्माणमा शिक्षकहरूको भूमिका सदैव महत्त्वपूर्ण हुने कुरामा जोड दिए।





