कोलकाता: भारतीय जनता पार्टीकी सांसद र शहरी विकास तथा नगरपालिका मामिला मन्त्री अग्निमित्र पालले कोलकातास्थित सीमा ग्यालरीमा आयोजित ‘आर्ट इन लाइफ २०२६’ प्रदर्शनीको उद्घाटन गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताएकी छन्।
आफ्नो फेसबुकमार्फत विचार सार्वजनिक गर्दै सांसद पालले भारतका परम्परागत हस्तकला, कारुशिल्प तथा समकालीन डिजाइनको विविधतालाई एउटै छानामुनि प्रस्तुत गर्ने यो विशेष प्रदर्शनी निकै महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्।
उनले कलाकार, कारिगर तथा डिजाइनरहरूको सिर्जनशीलतालाई सम्मान गर्ने उद्देश्यले गरिएको यस्तो पहल प्रशंसनीय रहेको बताएकी छन्। भारतीय कला तथा हस्तशिल्पको समृद्ध परम्परा, मौलिकता र विविधतालाई संरक्षण तथा प्रवर्द्धन गर्न यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
मन्त्री पालले भारतको कला तथा हस्तशिल्पको गौरवशाली परम्परा अझ समृद्ध हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गर्दै सिर्जनशीलताको यो यात्रा निरन्तर अघि बढिरहोस् भन्ने कामना गरेकी छन्।
उनका अनुसार ‘आर्ट इन लाइफ २०२६’ प्रदर्शनीले परम्परागत हस्तकला र आधुनिक सिर्जनाबीचको सम्बन्धलाई उजागर गर्नुका साथै कलाकार, कारिगर र डिजाइनरहरूको प्रतिभालाई प्रोत्साहन गर्ने अवसर प्रदान गरेको छ।





