गान्तोक: राष्ट्रिय शिक्षक पुरस्कार २०२६ बाट सम्मानित सिक्किमकी शिक्षिका सुषमा तामाङले शनिवार लोक भवनमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरेकी छन्।
लोक भवन सूत्र अनुसार, भेटघाटको क्रममा राज्यपाल माथुरले पीएम श्री सरकारी उच्चतर माध्यमिक विद्यालय, डिक्लिङकी रसायनशास्त्र शिक्षिका सुषमा तामाङलाई प्रतिष्ठित राष्ट्रिय शिक्षक पुरस्कार प्राप्त गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे। शिक्षिका तामाङलाई गत ५ सेप्टेम्बर शिक्षक दिवसको अवसरमा नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको बाहुल्यबाट सो पुरस्कार प्रदान गरिएको थियो।
भेटका क्रममा शिक्षिका तामाङले राज्यपाललाई राष्ट्रपतिबाट देशभरिका ४८ जना छनोट गरिएका उत्कृष्ट शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार २०२६ प्रदान गरिएको जानकारी गराइन्।
यसैबीच राज्यपाल माथुरले यो प्रतिष्ठित सम्मान सम्पूर्ण सिक्किम राज्यका लागि गर्वको विषय रहेको बताए। उनले शिक्षा र नैतिक मूल्य मान्यताका माध्यमबाट युवा पुस्ताको उज्ज्वल भविष्य निर्माणमा शिक्षिका तामाङले आगामी दिनहरूमा पनि निरन्तर योगदान पुर्याउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।





