मङ्पु: साहित्य अकादमी, भारत सरकारको संस्कृति मन्त्रालय तथा दार्जिलिङ पर्वतीय विश्वविद्यालय, मङ्पुको संयुक्त आयोजनामा ‘भारतीय नेपाली साहित्यमा पर्वतीय लोक संस्कृतिको प्रतिबिम्ब’ विषयक एकदिने विचार सङ्गोष्ठी शनिवार विश्वविद्यालयको सेमिनार हलमा भव्यताका साथ सम्पन्न भयो। सङ्गोष्ठीमा भारतीय नेपाली साहित्यमा पहाडी क्षेत्रको लोकजीवन, संस्कृति, परम्परा, मौलिकता तथा सामाजिक परिवेश कसरी प्रतिबिम्बित हुँदै आएको छ भन्ने विषयमा विभिन्न कोणबाट गहन छलफल एवम् परिचर्चा गरियो।
साहित्यकार, प्राध्यापक, शोधकर्ता तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा पर्वतीय लोक संस्कृतिका मौलिक पक्षहरूको संरक्षण, अध्ययन तथा नयाँ पुस्तासम्म यसको महत्त्व र मौलिकता पुर्याउने विषयमा विशेष जोड दिइयो।
कार्यक्रमको दौरान विश्वविद्यालयकी उपकुलपति तेजिमाला गुरुङ, रजिस्ट्रार सुजातारानी राई तथा वरिष्ठ साहित्यकार आशा (मुखिया) लामा र डा. सञ्जय बान्तावाको बाहुलीबाट कार्यपत्र प्रस्तुतकर्ताहरू डा. अरुणा राई, प्राध्यापक डा. कबीर बस्नेत, डा. ज्ञानेन्द्र सुब्बा र उदय थुलुङलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरियो।
कार्यक्रमको पहिलो सत्रको अध्यक्षता डा. सञ्जय बान्तावाले गरेका थिए। त्यसपछि दोस्रो सत्रमा प्रसिद्ध साहित्यकार बिन्ध्या सुब्बाको अध्यक्षतामा कवि गोष्ठीको आयोजना गरियो। डा. मौसम शर्माले सञ्चालन गरेको सो कवि गोष्ठीमा कविहरू सुरेन्द्र थीङ, देवलाल मोक्तान, प्रमिला मुखिया, पुष्कर सिङ्गर तथा नमिता राईले आफ्ना स्वरचित कविताहरू वाचन गरे। कार्यक्रमको अन्त्यमा डा. महेश दाहालले उपस्थित अतिथि, साहित्यकार, प्राध्यापक, शोधकर्ता तथा साहित्यप्रेमीहरूप्रति धन्यवाद ज्ञापन गरे।





