राज्यस्तरीय पाङ ल्हाबसोल पर्व २०२२ शुरु

नाम्ची: राज्यस्तरीय पाङ ल्हाबसोल पर्व २०२२ नाम्ची जिल्लाअन्तर्गत राभाङलामा आजदेखि शुरू भएको छ। यसको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री दोर्जी डी. भोटिया प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सम्बोधन गर्दै भोटियाले सन् १९८४ सालदेखि राज्यस्तरीय पाङ ल्हाबसोल पर्व राभाङलामा मनाउँदै आइरहेको जानकारी गराए। सन् १९८४ सालमा सात आठ जना युवाहरू मिलेर पाङ ल्हाबसोल पर्व मनाउन शुरु गरिएको बताउॅंदै आफु पनि पुरानो संस्थापक सदस्य रहेको बताए। भोटियाले राभाङलाको पाङ ल्हाबसोल पर्वलाई अझै कायम राख्न अब शिक्षित युवा भाई बहिनीहरू अघि आएर पालो दिनु पर्ने बताए। साथै सम्पूर्ण राभाङालाबासीले राजनीतिभन्दा माथि उठेर भविष्यमा पनि मिलेर यो पाङ ल्हाबसोल पर्व मनाउनु पर्ने सुझाउ राखे। भोटियाले यो पाङ ल्हाबसोल पर्वकै कारणले राभाङलामा बुद्ध पार्क, माणिछोकारलिङ गुम्बा जस्ता पवित्र स्थलको निर्माण भएको र भगवान बुद्धको दर्शन गर्न विश्वदेखि मानिसहरू राभाङलामा आउने गरेको बताए। यस अवसरमा पूर्व विधायक सोनाम ग्याछो भूटिया, समाजसेवी छिवाङ ग्याम्चो भोटिया, सीईसी उपाध्यक्ष (एसकेएम) लोब्जाङ भोटिया, सिक्किम सरकारका महिला आयोग सदस्या एवं नाम्ची जिल्ला अध्यक्ष (एसकेएम) टेनी डोमा भोटिया, जिल्ला पञ्चायतगण, ग्राम पञ्चायतगण, महकुमास्तरीय विभागीय अधिकारीगण लगायत आमन्त्रित अतिथिहरूको विषेश उपस्थिति रहेको थियो।
कार्यक्रममा देशभक्ति गीत, ब्याण्ड प्रदर्शन, विभिन्न जातिका नृत्य लगायत भलिबल खेल प्रतियोगिता मुख्य आकर्षण रहेको थियो। हाते भकुण्डो प्रतियोगितामा पहिलो खेलमा राभाङला भिजनेरी सिक्सलाई पराजित गरेर एनएसवाईसी सादा १४ माइल राभाङला विजय बन्यो। दोस्रो खेलमा राङगाङ याङगाङलाई पराजित गरेर ताङजी भलिबल कल्ब विजय बन्यो।

About Author

Advertisement