गान्तोक: राजधानीस्थित राजभवनमा आज पश्चिम बंगाल गठन दिवस पालन गरियो। एक भारत श्रेष्ठ भारतअन्तर्गत पालन गरिएको सो दिवसमा राजभवनका सचिव जेडी भोटियाले देशको स्वतन्त्रतामा अनि स्वतन्त्रतापछि बंगालको महत्वपूर्ण योगदानमाथि प्रकाश पार्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यको सन्देश सुनाए। राज्यपालले आफ्नो सन्देशमा राज्य दिवस पालन गर्ने पहलको स्वागत गर्दै यसले सबै राज्यहरूबीच राम्रो समन्वय स्थापित हुनुका साथै सांस्कृतिक जागरूकता र एकता बढ्ने बताएका छन्। पश्चिम बंगाल गठन दिवसको पालनले विविध संस्कृतिहरूको सम्मान र प्रशंसा गर्ने मात्र होइन तर भारतको एकतालाई बढावा मिल्छ भनी उनले बताए। यस अवसरमा संस्कृति विभागका कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। यसैगरी, पश्चिम बंगालका नागरिकहरूले पनि आफ्नो विशेष प्रस्तुतिमा बंगालको समृद्ध सांस्कृतिक धरोहर प्रदर्शित गरेका थिए।









