सिलगढी: सिलगढी क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गरी सडक सुरक्षा कायम गर्न सिलीगुडी प्रहरी कमिश्नरेट अन्तर्गतको सिलगढी ट्राफिक पुलिसले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेहरू विरुद्ध विशेष चेकिङ अभियानलाई तीव्रता दिएको छ।
सहरका विभिन्न रणनीतिक तथा संवेदनशील स्थानहरूमा सघन नाका चेकिङ तथा ब्रेथ एनालाइजर प्रविधिको प्रयोग गरी परीक्षण कार्य भइरहेको छ। चेकिङका क्रममा मादक पदार्थ सेवन गरेर सवारी चलाएको पाइएमा चालकहरूमाथि कडा कानुनी कारबाही भइरहेको पुलिसले जनाएको छ।
मापसे गरेर सवारी चलाउँदा चालक स्वयंका साथै यात्रु, पैदल यात्री र अन्य सडक प्रयोगकर्ताहरूको जीवन समेत जोखिममा पर्ने भएकाले जिम्मेवार नागरिक बन्न पुलिसले अपिल गरेको छ। ‘यदि मदिरा सेवन गर्नुहुन्छ भने सवारी नचलाउनुहोस्’ भन्दै सिलगढी पुलिसले सबैको सहकार्यमा सुरक्षित र अनुशासित ट्राफिक वातावरण निर्माण गर्न आह्वान गरेको छ।









