भारतीय सेनाद्वारा बाढीपीडितको उद्धार र राहत कार्य जारी
जाेरहाट: असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले माथिल्लो असमका बाढी प्रभावित क्षेत्रमा सञ्चालित जलमार्ग उद्धार कार्यलाई साहस, सेवा र मानवताको एक उत्कृष्ट उदाहरणका रूपमा वर्णन गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै उहाँले भारतीय सेनाको ‘रेड शिल्ड डिभिजन’का जवानहरूले ‘अपरेसन वाटर रिलिफ’ मार्फत निरन्तर उद्धार, राहत तथा पुनर्नर्वाशको कार्य गरिरहेको जानकारी गराउनुभएको छ।
बाढी प्रभावित क्षेत्रहरूबाट लाखौँ मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै पीडितहरूलाई समयमै खाद्य सामग्री, पिउने पानी, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक वस्तुहरू उपलब्ध गराइँदैछ। यसका साथै सेनाको इन्जिनियरिङ टोलीले सम्पर्कविहीन भएका दुर्गम क्षेत्रहरूमा यातायात र सञ्चार पुनः कायम गर्न नागरिक प्रशासनलाई ठूलो सहयोग पुर्याइरहेको छ।
मुख्यमन्त्री शर्माले यस कठिन परिस्थितिमा देखाएको साहस, आपसी समन्वय र समर्पित सेवाका लागि भारतीय सेना, नागरिक प्रशासन, एनडीआरएफ, एसडीआरएफ र सम्पूर्ण सम्बद्ध संघ-संस्थाहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ।










