दीगो पर्यटन, समुदाय सशक्तिकरण र पारिस्थितिकी संरक्षणबाट ‘ब्लु कार्बन इकोनोमी’ प्रवर्द्धन गर्ने लक्ष्य
रायचक (दक्षिण २४ पर्गना):
पर्यावरणीय संरक्षण, जलवायु उत्थानशीलता र दीगो विकासप्रतिको प्रतिबद्धतालाई पुनः दोहोर्याउँदै पश्चिम बंगाल सरकारको पर्यटन विभागले दक्षिण २४ पर्गना जिल्ला प्रशासनसँगको सहकार्यमा आइतबार ‘विश्व म्यान्ग्रोभ दिवस २०२६’ भव्य रूपमा मनाएको छ। रायचकस्थित ताज गंगा कुटिरमा आयोजित प्रदेशस्तरीय विशेष समारोहमा राज्यका उच्च नीतिनिर्माता, प्रशासक, वातावरणविद्, पर्यटन व्यवसायी तथा स्थानीय समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै पर्यटकीय र संसदीय मामिला मन्त्री डा. शंकर घोषले आर्थिक प्रगति र पर्यावरणीय संरक्षणलाई एकअर्काको पूरकका रूपमा अघि बढाउनुपर्नेमा विशेष जोड दिनुभयो। सुन्दरवन विश्वकै सबैभन्दा मूल्यवान् पर्यावरणीय सम्पत्तिमध्ये एक भएको उल्लेख गर्दै उहाँले म्यान्ग्रोभ वन प्राकृतिक रूपमा कार्बन सोस्ने उत्कृष्ट माध्यम हुनुका साथै चक्रवात र तटीय कटानविरुद्धको बलियो रक्षापंक्ति भएको बताउनुभयो। ‘ब्लु कार्बन इकोनोमी’ को मुटु मानिने यस्ता पारिस्थितिकीय प्रणालीको संरक्षणका लागि भविष्यको पर्यटनलाई उच्च-मूल्य र कम-प्रभाव मोडलमा लैजानुपर्ने उहाँको भनाइ थियो।
यसै क्रममा पर्यटन विभागले सुन्दरवनको पर्यावरणीय संवेदनशीलतालाई ध्यानमा राख्दै पर्यटन पूर्वाधार, जलयातायात, सडक सञ्जाल र संरक्षणका कार्यहरूलाई एकीकृत रूपमा अघि बढाउने रणनीतिक योजना अघि सारेको छ। यसअन्तर्गत सुन्दरवन मामिला, वन, मत्स्य र जिल्ला प्रशासनजस्ता निकायहरूसँग सहकार्य गरिनेछ। अब सुन्दरवन भ्रमणमा आउने प्रत्येक पर्यटकलाई अनिवार्य रूपमा कम्तीमा एउटा म्यान्ग्रोभको बिरुवा रोप्न प्रोत्साहन गर्दै संरक्षणलाई नै पर्यटकको अनुभवसँग जोड्ने तयारी गरिएको छ। साथै भारत सरकारको ‘वन स्टेट, वन ग्लोबल डेस्टिनेसन’ पहलअन्तर्गत पश्चिम बंगालबाट दार्जिलिङ र सुन्दरवनलाई फ्ल्यागसिप गन्तव्यका रूपमा अघि सारिएको छ। पर्यटक तथा स्थानीय बासिन्दाको सहजताका लागि कोलकाताबाट सिधै सुन्दरवन जोड्ने जलयातायात सेवा सञ्चालन गर्न यातायात विभागसँग समन्वय गरी नदी पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य पनि लिइएको छ।
तटीय संरक्षणमा राज्यव्यापी प्रतिबद्धता जनाउन रायचकको मुख्य कार्यक्रमसँगै उत्तर २४ पर्गनाको नेबुखालीमा पनि प्रत्यक्ष भिडियो कन्फरेन्सिङमार्फत सामान्तर रूपमा म्यान्ग्रोभ वृक्षारोपण अभियान सञ्चालन गरिएको थियो। यसले अन्तर-जिल्ला सहकार्यको सन्देश दिएको छ।
कार्यक्रममा म्यान्ग्रोभ संरक्षण र सामुदायिक सचेतनामा अनुकरणीय योगदान पुर्याएबापत ‘म्यान्ग्रोभ म्यान’ का रूपमा परिचित उमाशंकर मण्डल, अजन्ता डे, अनिल मिस्त्री, डा. अनामित्र अनुराग डान्डा र ग्रिन ब्रिगेड संस्थालाई विशेष सम्मान प्रदान गरिएको थियो। पर्यटन विभागका अतिरिक्त मुख्य सचिव वरुणकुमार रायको स्वागत मन्तव्यबाट सुरु भएको उक्त समारोहमा पर्यटन राज्यमन्त्री पूर्णिमा चक्रवर्ती, सुन्दरवन मामिला राज्यमन्त्री दीपङ्कर जाना, स्थानीय विधायकहरू लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो भने दक्षिण २४ पर्गनाका जिल्ला मजिस्ट्रेट अभिषेककुमार तिवारीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।










