म एउटा खुल्ला किताब हुँ’ जसले जसरी पढ्दा पनि हुन्छ: डा. जस योञ्जन ‘प्यासी’
सिलगढी: भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार डा. जस योञ्जन ‘प्यासी’ का साहित्यिक कर्ममा आधारित मूल्याङ्कन कृति ‘एउटा खुल्ला किताब’: कृति कीर्तिवृत्तमा जस योञ्जन ‘प्यासी’ पुस्तकको लोकार्पण आईतवार सिलगढीमा सम्पन्न भएको छ। सम्बोधन पब्लिकेसन सालुगढा सिलगढीको प्रकाशनमा रहेको उक्त पुस्तक सिलगढीको देवकोटा संघमा लोकार्पण गरिए भएको छ। उक्त पुस्तक लोकार्पण कार्यक्रमको अध्यक्षता साहित्य अकादमी पुरस्कार प्रापक वरिष्ठ स्रष्टा विन्ध्या सुब्बाले गरेकी थिइन्। कवि एवं गीतकार कमल रेग्मीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण सम्बोधन पब्लिकेसनको तर्फबाट सुरज गुरुङले राखेका थिए। यसै कार्यक्रममा सभाध्यक्षा वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बा, विशिष्ट अतिथिहरु क्रमैले नेपालबाट आएका चन्द्र भण्डारी, असमबाट आएका समाजसेवी कृष्ण भुजेल, वरिष्ठ साहित्यकारहरु डा. कृष्णराज घतानी, ज्ञानेन्द्र खतिवडा, जय क्याक्टस, स्रष्टा डा. जस योञ्जन ‘प्यासी’, प्रकाशक सुरज गुरुङ, पुस्तकका सम्पादक लक्ष्मण दाहाल आदिको बाहुलीबाट भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार डा जस योञ्जन ‘प्यासी’को मूल्याङ्कन कृति ‘एउटा खुल्ला किताब’: कृति कीर्तिवृत्तमा जस योञ्जन ‘प्यासी’ नामक पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तकको लोकार्पण गरिएको घोषणा कार्यक्रमका सभाध्यक्षा बिन्ध्या सुब्बाले गरेकी थिइन्। कार्यक्रममा डा. जस योञ्जन ‘प्यासी’द्वारा लिखित गीतहरु गायक गायिकाहरु क्रमैले सुधीर घले, नम्रता बल, कर्म मोक्तान र रञ्जिता सुनारले प्रस्तुत गरेका थिए। कार्यक्रममा सम्बोधन पब्लिकेसनको तर्फबाट स्रष्टा डा. जस योञ्जन ‘प्यासीलाई सम्मान जनाइएको थियो भने डा जस योञ्जन ‘प्यासी’को परिवार यन्ले धिमको तर्फबाट पनि प्रकाशक सुरज गुरुङ र सम्पादक लक्ष्मण दाहाललाई सम्मान जनाइएको थियो। यस अवसरमा डा. जस योञ्जन ‘प्यासी’की पत्नी एवं परिवारको तर्फबाट खदार्पणसहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो। कार्यक्रममा लोकार्पित पुस्तकको सम्पादक लक्ष्मण दाहालले सम्पादकीय मन्तव्य राख्दै यो पुस्तकलाई अभिनन्दन ग्रन्थ नभनेर मूल्याङ्कन ग्रन्थ भनेको र यस पुस्तकमा जस योञ्जन ‘प्यासी’ सरको समालोचना र गीतहरुलाई प्राथमिकता दिएको बताएका छन्। उनले सम्बोधन पब्लिकेसनको तर्फबाट साहित्यकारहरुको मूल्याङ्कन कृतिको शुरुवात डा जस योञ्जन ‘प्यासी’ सरको पुस्तकबाट शुरु गरिएको जानकारी गराउँदै भने, ‘डा जस योञ्जन ‘प्यासी’ जस्तो विशाल पट वृक्षको मूल्याङ्कन भईहाल्यो भन्न मिल्दैन तर यस पुस्तकबाट विराट व्यक्तित्वको थोरै मूल्याङ्कन भए पनि हामी खुशी हुनेछौं।’

कार्यक्रममा विशिष्ट अतिथि चन्द्र भण्डारीले आफ्नो सम्बोधनमा भने, डा जस योञ्जन ‘प्यासी’ हिमाल हुन्। उनलाई शुभेच्छा अर्पण गर्न म आएको छु। डा जस योञ्जन ‘प्यासी’ को गीतहरुले मेरो देश भरिएको छ। डा. जस योञ्जन ‘प्यासी’ भीमकाय मान्छे हुन्, उनी विविध आयामका व्यक्ति हुन्। उनको विषयमा केवल गीतमाथि मात्र चर्चा गर्नु सान्दर्भिक हुँदैन। किनभने डा जस योञ्जन ‘प्यासी’ रेडियोकर्मी हुन्, नाटककार हुन्, कवि र समालोचक हुन्, उनी सबै हुन्।’
कार्यक्रममा डा जस योञ्जन ‘प्यासी’ले आफ्नो सम्बोधन राख्दै भने, आज म अत्यन्तै खुशी छु। उनले भने, ‘म एउटा खुल्ला किताब हुँ’, मलाई जसरी पढ्दा हुन्छ। शुरुदेखि पढ्दा पनि हुन्छ। बीचदेखि पढ्दा पनि हुन्छ। लास्टदेखि पढ्दा पनि हुन्छ। मन परेन भने च्यातेर फ्याँक्दा पनि हुन्छ। मेरो जीवन नै तेस्तो छ।
डा जस योञ्जन ‘प्यासी’ ले अघि भने, मेरो उद्देश्य एउटा मानिसलाई कसरी माथि उठाउनु पर्ने हो त्यो छ। म अहिले आध्यात्मिक बनेको छु र मेरो मनमा मलाई बुध्दले सिकाउँछ र अरुलाई माथि उठाउन मनपर्छ।’
उनले अझ भने, यो पुस्तक पढेर म भित्र भित्रै रुएँ। म अलिक कमजोर बनेको छु। मेरो लागि भनेर टाडा टाडाबाट तपाईंहरु आईदिनु भयो खुसी लागेको छ। तपाईंहरुको महत्वपूर्ण कामहरु छोडेर मेरो लागि आएकोमा धेरै धन्यवाद छ।’
उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। कार्यक्रमकी सभाध्यक्ष वरिष्ठ साहित्यकार बिन्ध्या सुब्बाले आफ्नो सम्बोधनमा भनिन् -‘डस जस योञ्जन ‘प्यासी’ गीतकार, कवि, कथाकार, नाटककार, समालोचक, बहुप्रतिभाको धनी हुन्। उनको कविता उच्च स्तरीय छ। उनले कविता सङ्ग्रह ‘शान्ति सन्देह’ मा नै २००४ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।’
उनले अघि भनिन् -‘डा. जस योञ्जन ‘प्यासी’को ऊँचाई हामीलाई थाहा छ। हाम्रो ह्रदयमा छ। कार्यक्रमले हामीलाई तरल बनाई दियो। खुशी बनाई दियो। डा. जस योञ्जन ‘प्यासी’ एकातिर प्रखर समालोचक र अर्कोतिर नरम र तरल गीतकार पनि हुन्। आजको कार्यक्रम साहित्य र संगीतको समागम बनेको छ। वातावरण नै तरल बनेको छ।’
बिन्ध्या सुब्बाले अझ बताइन् ‘डा. जस योञ्जन ‘प्यासी’ भित्र कत्ति नरम भए पनि बाहिर कठोर पनि हुनुहुन्छ। यो पुस्तक डा. जस योञ्जन ‘प्यासी’को मूल्याङ्कनको सानो झिल्का हो र मूल्याङ्कनको यो क्रम अझ जारी रहोस्।’
कार्यक्रममा डा. जस योञ्जन ‘प्यासी’ र अन्यको बाहुलीबाट सम्बोधन पब्लिकेसनको तर्फबाट प्रकाशित हुन लागेको वरिष्ठ साहित्यकार एवं कवि उदय थुलुङको कविता सङ्ग्रह ‘निनम्मा’ को पोष्टर सार्वजनिक पनि गरिएको छ। कार्यक्रममा दार्जीलिङ, बिजनबारी, खरसाङ, मिरिक, कालेबुङ, मङ्पु, डुवर्स, गोरुबथान, सिलगढी, सालबारी, सुकना, तीनधारे, असम, नेपाल लगायत विभिन्न स्थानहरुबाट मानिसहरु उपस्थित रहेका थिए।









