सिलगढी: सिलगढी ट्राफिक पुलिसले पर्यटकहरूको सुरक्षा र सहज यात्रा सुनिश्चित गर्न सञ्चालित ‘टुरिस्ट हेल्पलाइन’ लाई थप व्यावसायिक र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। सामाजिक सञ्जालमार्फत आधिकारिक वक्तव्य जारी गर्दै सिलगढी ट्राफिक पुलिसले हेल्पलाइनको सफलता र विश्वासका लागि सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूप्रति आभार व्यक्त गरेको छ।पश्चिम बङ्गाल सरकारका संसदीय मामिला तथा पर्यटन मन्त्री र सिलगढीका विधायक डा. शंकर घोषले ट्राफिक प्रहरीको यस कार्यको प्रशंसा गर्दै दिएको प्रोत्साहन र विश्वासका लागि धन्यवाद ज्ञापन गरिएको छ। पर्यटकहरूलाई द्रुत सहायता र सुरक्षित वातावरण प्रदान गर्न सिलगढी पुलिस पूर्ण समर्पणका साथ खटिने वक्तव्यमा उल्लेख छ।पर्यटनको मुख्यद्वार मानिने सिलगढी क्षेत्रमा आउने पर्यटकहरूलाई कुनै पनि समस्या पर्दा तत्काल सहयोग पुर्याउने उद्देश्यले यो विशेष हेल्पलाइन सेवा सञ्चालनमा ल्याइएको हो। पुलिसको यस कदमले सिलगढी भ्रमणमा आउने पर्यटकहरूलाई सुरक्षित र सहज अनुभव गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।









