न्यु जलपाइगुडी–अमृतसर अमृत भारत एक्सप्रेसलाई स्वीकृति दिएकामा रेल बोर्डलाई धन्यवाद दिए सांसद विष्टले‎‎‎‎

FB_IMG_1778706624227

दार्जिलिङ: न्यु जलपाइगुडीदेखि अमृतसरसम्म सिधा सञ्चालन हुने नयाँ अमृत भारत एक्सप्रेस सेवालाई स्वीकृति दिएकामा दार्जिलिङका सांसद राजु विष्टले भारतीय रेल बोर्डप्रति हार्दिक आभार व्यक्त गरेका छन्।‎सांसदले यस नयाँ रेल सेवाले उत्तर बंगाल, बिहार र पञ्जाबबीचको सम्पर्क अझ सुदृढ हुने बताएका छन्।‎सांसदका अनुसार, १४६६४/१४६६३ नम्बरको अमृतसर–न्यु जलपाइगुडी अमृत भारत एक्सप्रेस हप्तामा एक दिन सञ्चालन हुनेछ। प्रत्येक बिहीबार रेलगाडी अमृतसरबाट प्रस्थान गर्नेछ। फर्किने क्रममा प्रत्येक शनिबार बिहान आठ बजे न्यु जलपाइगुडीबाट छुटेर सोमबार बिहान दुई बजेर बीस मिनेटमा अमृतसर पुग्नेछ।‎उनले नयाँ निर्माण गरिएको ललितग्राम बाइपास तथा अररिया–गलगलिया रेल खण्ड हुँदै सञ्चालन हुने यो रेल सेवाले दार्जिलिङ, तराई, डुवर्स, सिलिगुडी, बागडोगरा, ठाकुरगञ्ज, कोसी, मिथिला र सीमाञ्चल क्षेत्रका मानिसहरूलाई ठूलो राहत तथा राम्रो सम्पर्क सुविधा प्रदान गर्ने बताए।‎राजु विष्टले यस नयाँ रेल सेवाले पञ्जाब, बिहार र उत्तर बंगालका मानिसहरूबीच आपसी सम्बन्ध अझ मजबुत बनाउने दाबी गरे। साथै व्यापार, पर्यटन, व्यवसाय, शिक्षा तथा रोजगारीका नयाँ अवसरहरू पनि सिर्जना हुने उनले बताए। विशेष गरी विद्यार्थी, श्रमिक, तीर्थयात्री, व्यापारी तथा पर्यटकहरू यसबाट धेरै लाभान्वित हुनेछन्।‎उनले आधुनिक अमृत भारत एक्सप्रेसको सुरुवात समावेशी विकास तथा क्षेत्रीय सम्पर्क सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए। यसका लागि उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा रेलमन्त्री अश्विनी वैष्णवलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement