वृद्धको दिमागको क्यान्सर गायब, थ्यालेसेमिया पीडित बालकले पाए नयाँ जीवन
कोलकाता: नारायण हेल्थका वरिष्ठ चिकित्सकहरूले जटिल र दुर्लभ मानिएका दुईवटा स्वास्थ्य समस्याको सफल उपचार गर्दै ऐतिहासिक सफलता हासिल गरेका छन्। उन्नत ‘ह्याप्लो कर्ड ट्रान्सप्लान्ट’ र ‘कार टी-सेल थेरापी’ विधिमार्फत चिकित्सकहरूले ७ वर्षीय थ्यालेसेमिया पीडित बालक र ६२ वर्षीय दिमागको क्यान्सर (ब्रेन क्यान्सर) बाट ग्रसित वृद्धको ज्यान जोगाएका छन्।
रगत चढाउनुपर्ने बाध्यताबाट बालकलाई मुक्ति
‘एचबीई बेटा थ्यालेसेमिया’बाट पीडित ७ वर्षीय बालकलाई हरेक महिना रगत चढाउनुपर्ने बाध्यता थियो। उनका अभिभावकलाई ‘सेभ द सिब्लिङ’ कार्यक्रमअन्तर्गत दर्ता हुन सल्लाह दिइयो। बालकका आमाबुबाले आइभीएफ र प्रिप्लान्टेशन जेनोमिक टेस्टिङमार्फत एचएलए म्याच हुने र थ्यालेसेमियामुक्त अर्को सन्तान जन्म्याए।
त्यसपछि ती नवजात शिशुको नालको रगत (कर्ड ब्लड) र बाबुको स्टेम सेल प्रयोग गरी बालकमा ‘ह्याप्लो कर्ड ट्रान्सप्लान्ट’ गरियो। उपचारका क्रममा संक्रमण, लिभरमा समस्या र काउन्ट घट्नेजस्ता कडा जटिलता देखिए पनि चिकित्सकहरूको अथक प्रयासले बालक पूर्ण रूपमा निको भएका छन्। अहिले उनलाई रगत चढाउनुपर्ने बाध्यता हटेको छ।
कार टी-सेल थेरापीबाट क्यान्सर पूर्ण रूपमा गायब
अर्को घटनामा, ६२ वर्षीय पुरुषको दिमागको क्यान्सर ‘कार टी-सेल थेरापी’ पछि पूर्ण रूपमा गायब भएको छ। सुरुवातमा हिँडडुलमा समस्या (Gait disturbance) देखिएपछि परीक्षण गर्दा उनमा ‘प्राइमरी सीएनएस लिम्फोमा’ नामको ब्रेन क्यान्सर पुष्टि भएको थियो। ४ पटकसम्म उच्च मात्राको किमोथेरापी दिँदा पनि रोग नियन्त्रणमा नआएपछि चिकित्सकहरूले कार टी-सेल थेरापी गर्ने निर्णय लिए।
क्यान्सर सेललाई लक्षित गरी सिडी१९ र सिडी२२ लाई टार्गेट गर्ने द्वैध कार प्रक्रिया अपनाइयो। त्यसपछि गरिएको एमआरआईमा क्यान्सरको कुनै लक्षण बाँकी नरहेको र रोग पूर्ण रूपमा निको भएको पाइयो। अहिले बिरामी पूर्ण रूपमा स्वस्थ र सामान्य अवस्थामा छन्।
चिकित्सकहरूका अनुसार यो सफलताले चिकित्सा क्षेत्रमा नयाँ आयाम थपेको छ र कठिन मानिएका रोगहरूको उपचार पनि सम्भव छ भन्ने प्रमाणित गरेको छ।










