कोलम्बो: भारतले श्रीलंकाविरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो दिन आफ्नो पहिलो ईनिंग्समा ५ विकेटमा ३०० रन बनायो। दिनको खेल समाप्त हुँदासम्म ध्रुव जुरेल ७ र पदार्पण टेस्ट खेलिरहेका अलराउण्डर सारांश जैन ४ रनमा अविजित थिए। आज पहिलो दिनको खेलमा देवदत्त पडिक्कलको शतक मुख्य आकर्षण रह्यो, जसले लगातार दोस्रो शतक बनाए। उनले १९३ बलको सामना गरी १२ वटा चौकाको सहायताले ११७रन बनाए। यसबाहेक कप्तान शुभमन गिलले पनि अर्द्धशतक (५०) बनाए। ओपनर यशस्वी जयसवालले ४५ र रवीन्द्र जडेजाले ४३ रनको योगदान दिए। श्रीलंकाई बलरहरूमा असिथा फर्नाण्डोले सर्वाधिक ३ विकेट हासिल गरे। यसबाहेक लाहिरु कुमारा र केशरा नुवान्थाले पनि १-१ विकेट लिए। म्याचमा टस जितेर पहिला ब्याटिंग भारतको शुरुवात असल रहेन अनि केएल राहुल केवल १८ रन बनाएर कुमाराको शिकार बने। यसरी ३७ रनमा पहिलो विकेटको पतनपछि पडिक्कलले यशस्वी जयसवालसँग मिलेर स्कोर ६६ रनसम्म पुऱ्याए। जयसवालले फर्नाण्डोको बलमा बोल्ड हुन अघि ५३ बलमा ४५ रन बनाए, जसमा नौवटा चौका सामेल छ। जयसवाल आउट भएपछि पडिक्कलले कप्तान शुभमन गिलबाट असल साथ पाए। यी दुईजनाले तेस्रो विकेटको निम्ति १२० रनको महत्त्वपूर्ण साझेदारी गरे। कप्तान गिल अर्द्धशतक पूरा गर्नको साथ आउट भए। उनले १०८ बल खेलेर ६ वटा चौका लगाए। गिल आउट भएपछि क्रीजमा आउने पन्तले पडिक्कललाई साथ दिँदै असल शुरुवात गरे पनि ३ रनको निजी स्कोरमा रिटार्ड हर्ट भए। वास्तवमा लाहिरु कुमाराको शर्ट बललाई पुल गर्ने प्रयास गर्दा बलले उनको देब्रे हातमा लाग्यो। पन्तले मैदान छोड़ेपछि पडिक्कलले जडेजासँग मिलेर रन बनाउन जारी राखे। यस अवधि पडिक्कलले आफ्नो दोस्रो टेस्ट शतक पूरा गरे। उनले जडेजासँग मिलेर स्कोरलाई २८१ रनसम्म पुऱ्याए। आत्मविश्वासको साथ खेलिरहेका पडिक्कल अन्तमा नुवान्थाको शिकार बने। भारतले आइतवार दिनको अन्तिम विकेटको रूपमा जडेजालाई गुमायो। जडेजाले ८३ बल खेलेर ४ वटा चौकाको सहायताले ४३ रन बनाए।










