दोस्रो आमा सम्मान दिवसकाे तयारी लिएर पहिलो समन्वय सभा सम्पन्न

FB_IMG_1785001672705

गान्तोक: हरेक वर्ष, जन उन्मुक्ति दिवसका रूपमा मनाइने ‘आमा सम्मान दिवस’ यसपाली जन उन्मुक्तिको शान, आमाको सम्मान भन्ने नाराका साथ पालन गरिने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा कार्यक्रमको लागि भव्य तयारी शुरु गरिएको छ।
यस क्रममा आज नाम्ची टाउन हलमा पहिलो समन्वय सभा सम्पन्न भएको छ। उक्त जानकारी एसकेएम सोसियल मिडिया अध्यक्ष नवीन दाहालले प्रेस विज्ञप्तिमा दिएका छन्।कार्यक्रमलाई भव्य, अनुशासित र जनसहभागितामूलक रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोजना गरिएको सभाको अध्यक्षता पार्टीका कार्यवाहक अध्यक्ष कुङ्गा निमा लेप्चाले गरे। सभामा दोस्रो आमा सम्मान दिवस नाम्चीको भाइचुङ स्टेडियममा आयोजना गरिने निर्णय गरियो। कार्यक्रमलाई ऐतिहासिक र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी र कार्ययोजना तय गर्दै विभिन्न शाखा र प्रकोष्ठबीच समन्वयका विषयमा विस्तृत छलफल गरियो। सभामा वक्ताहरूले जन उन्मुक्ति दिवसको ऐतिहासिक महत्त्व र आमा सम्मान दिवसको सन्देशलाई आम नागरिकसम्म पुर्याउन सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिए। सभामा आगामी कार्यक्रमका लागि समिति पनि गठन गरियो भने राज्य सरकारका मन्त्री भोजराज राईलाई प्रमुख संरक्षकको जिम्मेवारी सुम्पिएको छ।

सभामा पार्टीका सेक्रेटरी जेनरल तथा मन्त्री अरुण उप्रेती, मन्त्रीहरू एनबी दाहाल, टीटी भोटिया, विधायकहरू कला राई, सञ्जित खरेल, मदन सिञ्चुरी, तेञ्जिङ नर्बु लाम्ठा, इरुङ लेप्चा, सोनाम भेन्चुङ्पा, आदित्य गोले, सुदेश लिम्बू, सतीशचन्द्र राई मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय विकास बस्नेत र जेकब खालिङ तथा पार्टीका विभिन्न तहका कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

About Author

Advertisement