दक्षिण युरोपमा भीषण डढेलो: स्पेन, फ्रान्स र इटालीबाट हजारौँ मानिस विस्थापित​

b1c7f318-7cdb-4400-b09b-075acf4052e3

नयाँ दिल्ली: रेकर्डतोड गर्मी र तीव्र हावाहुरीका कारण दक्षिण युरोपका विभिन्न देशहरूमा भीषण डढेलो फैलिएको छ। डढेलो अनियन्त्रित बन्दै गएपछि स्पेन, फ्रान्स र इटालीका प्रभावित क्षेत्रहरूबाट हजारौँ मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ।​स्पेन सरकारले राजधानी म्याड्रिड र आविला प्रान्तका बस्तीहरूतर्फ डढेलो बढेपछि राष्ट्रिय आपत्कालको घोषणा गरेको छ। विला डेल प्राडो र सान मार्टिन दे वाल्देइग्लेसियास लगायतका क्षेत्रमा डढेलो अझै नियन्त्रणबाहिर रहेको अधिकारीहरूले जनाएका छन्।​यसैगरी, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनका अनुसार देशको दक्षिण-पश्चिमी जिरोन्द क्षेत्रमा स्थिति निकै तनावपूर्ण बनेको छ। त्यहाँ हालसम्म ८,७०० हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले नष्ट भइसकेको छ भने करिब २०,००० मानिसलाई सुरक्षित स्थानमा लगिएको छ। फ्रान्सले युरोपेली युनियनको सिभिल प्रोटेक्सन मेकानिजमसँग सहयोगको अपिल समेत गरेको छ।​इटालीको सिसिली द्विपका विभिन्न भागमा पनि डढेलो तीव्र रूपमा फैलिरहेको छ। कासाबोली, बिवोना, अलिमेना र मदोनी क्षेत्रीय प्राकृतिक उद्यान लगायतका क्षेत्रहरू डढेलोबाट गम्भीर रूपमा प्रभावित भएका छन्। अग्निनयन्त्रकहरू डढेलो नियन्त्रणमा लिन निरन्तर खटिरहेका छन्।

About Author

Advertisement