गान्तोक: राज्यको संस्कृति विभाग र डिमापुरको नर्थ इस्ट जोन कल्चरल सेन्ट्रको संयुक्त पहलमा आजादीका अमृत महोत्सव अन्तर्गत स्वतन्त्रताको समयमा संघर्ष गरेका त्रिलोचन पोख्रेलकोबारेमा एक कार्यक्रम आयोजना गरियो।पाकिम जिल्लाको सामुदायिक केन्द्रमा आयोजित उक्त कार्यक्रममा मुख्य अतिथिकोरूपमा सिक्किम संस्कृति धरोहर, सामुदायिक सदभावना बोर्डका अध्यक्ष सोनम शेर्पा रहेका थिए। आफ्नो सम्बोधनमा मुख्य अतिथि शेर्पाले देश स्वतन्त्रता भएको ७५औं वर्षको उपलक्ष्यमा एक वर्षसम्म आजादीका अमृत महोत्सव पालन गर्दै आइरहेक छ भने सिक्किमले पनि राज्यको विभिन्न स्थानमा यसलाई महोत्सवकोरूपमा पालन गरिरहेको बताए। विशेष गरेर यस अवसरमा देशलाई अंग्रेजको दासत्वबाटमुक्ति दिलाउने ती महान योद्धाहरूको स्मरण गर्दै आइरहेको जानकारी गराए।देश स्वतन्त्रताको लागि लडिरहेको बेला सिक्किम राज्यबाट टाढा, तारेथाङ पाकिम जिल्लाको दुर्गम गाउँमा त्रिलोचन पोख्रेल गान्धीजीको स्वतन्त्रता आन्दोलनको वकालत गर्न व्यस्त रहेको विद्यार्थीहरूलाई जानकारी गराए। त्यस्तै सिक्किमकी अर्की छोरी हेलेन लेप्चा पनि स्वतन्त्रता संग्राममा सहभागी भइन्। यस कार्यक्रमले इतिहासमा छाप छोड्ने हाम्रा केही कम चिनिएका तर उत्तिकै वीर नेताहरूलाई चिन्ने अवसर उपलब्ध गराएको उनले थप जानकारी गराए।, उनले विद्यार्थीहरुलाई देशको इतिहास सिक्न र स्वतन्त्रता सेनानीहरुको बलिदानको कदर गर्न आग्रह गरे। उनीहरूको त्याग र संघर्षले नै आज हामीले स्वतन्त्रताको उपभोग गरिरहेको जानकारी गराए।









