​टिस्टा सुरुङ दुर्घटना: मुख्यमन्त्री र राज्यपालद्वारा निरीक्षण, उच्चस्तरीय छानबिन समिति गठन गरिने

FB_IMG_1784654906935

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओमप्रकाश माथुरले नाम्ची जिल्लाको सामरदुङस्थित निर्माणाधीन टिस्टा स्टेज-VI जलविद्युत् आयोजनाको सुरुङ दुर्घटनास्थलको मङ्गलबार संयुक्त निरीक्षण गरेका छन्।
​गत जुलाई २० (साउन ४) मा एनएचपीसीद्वारा निर्माणाधीन टिस्टा स्टेज-VI सुरुङभित्र भएको दुखद् दुर्घटनामा परी केही श्रमिकहरूको ज्यान गएको थियो। दुर्घटनापछि मुख्यमन्त्री गोले र राज्यपाल माथुरले झोलुङ्गे, सामरदुङ पुगेर स्थितिबारे प्रत्यक्ष जानकारी लिनुका साथै जारी उद्धार तथा राहत कार्यको विस्तृत समीक्षा गरेका हुन्।
​निरीक्षणपछि मुख्यमन्त्री गोलेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन राज्य सरकारले एक उच्चस्तरीय छानबिन समिति गठन गर्ने घोषणा गरेका छन्। साथै, राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) को मापदण्डअनुसार मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट अनुग्रह सहायता उपलब्ध गराइने पनि उनले प्रतिबद्धता जनाएका छन्।

​सुरुङभित्र अड्किएका वा प्रभावित भएकाहरूको उद्धारका लागि जिल्ला प्रशासनको समन्वयमा एनडीआरएफ, राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ), सिक्किम प्रहरी, पश्चिम बङ्गालको असानसोलबाट आएको खानी सुरक्षा टोली स्थानीय बासिन्दा तथा अन्य आपत्कालीन निकायहरू निरन्तर खटिएका छन्।
​मुख्यमन्त्री गोलेले ज्यान गुमाएका श्रमिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। “यस कठिन घडीमा सिङ्गो राज्य नै शोकाकुल परिवारको साथमा छ,” मुख्यमन्त्रीले भनेका छन्, “हामी मृतकका परिवारसँग ऐक्यबद्धता जनाउँदै सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउन पूर्ण रूपमा प्रतिबद्ध छौँ।”
​उक्त आयोजनामा भारतका विभिन्न राज्यका साथै नेपाली भाषी तथा छिमेकी क्षेत्रका श्रमिकहरू कार्यरत रहँदै आएकाले घटनालाई लिएर सम्पूर्ण हिमाली क्षेत्रमा चासो र चिन्ता व्यक्त गरिएको छ। उद्धार टोलीले कठिन भौगोलिक परिस्थितिका बिच उद्धार कार्यलाई तीव्रता दिइरहेको छ।

About Author

Advertisement