‘सिक्किमलाई आत्मनिर्भर र विकसित बनाउन प्रतिबद्ध छौँ’: डीआर थापा
गान्तोक: पाकिम जिल्लाअन्तर्गत छुजाचेन निर्वाचन क्षेत्रको रङ्गेलीमा आयोजित एक विशेष कार्यक्रमका बीच करिब ५५ परिवार भारतीय जनता पार्टी (भाजपा) मा औपचारिक रूपमा सामेल भएका छन्।
भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापा, प्रदेश महासचिव दिनेश नेपाल, पार्टीका वरिष्ठ नेता, कार्यसमिति सदस्य तथा स्थानीय कार्यकर्ताहरूको समुपस्थितिमा उक्त नवप्रवेश कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरे। जनतामा भाजपा तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति बढ्दो जनविश्वासकै परिणाम स्वरूप यो सामूहिक प्रवेश भएको उनले बताए। “पार्टीको मुख्य उद्देश्य साङ्गठनिक विस्तार गर्नु मात्र नभई केन्द्र सरकारका कल्याणकारी योजनाहरूको लाभ प्रत्येक योग्य नागरिकसम्म पुर्याउनु हो,” थापाले भने।
सम्बोधनका क्रममा उनले आयुष्मान भारत, पीएम-किसान, उज्ज्वला योजना तथा ई-श्रमजस्ता प्रमुख केन्द्रीय योजनाहरूको चर्चा गर्दै यी कार्यक्रमले स्वास्थ्य, कृषि, स्वच्छ इन्धन र सामाजिक सुरक्षाको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको दाबी गरे। नवप्रवेशीहरूलाई पार्टीको जनसेवा अभियानमा सक्रिय दूत बनेर तल्लो तहसम्म योजनाहरूको जानकारी पुर्याउन उनले आह्वान गरे। साथै, ऋणमुक्त, स्वरोजगारयुक्त, गुणस्तरीय शिक्षा र सुशासनसहितको ‘आत्मनिर्भर सिक्किम’ निर्माण गर्ने भाजपाको दृष्टिकोण उनले दोहोर्याए।
यसैक्रममा अध्यक्ष थापाले राज्यमा ‘जल जीवन मिसन’ को कार्यान्वयनमा देखिएका कमीकमजोरीप्रति चिन्ता व्यक्त गरे। तोकिएको दिशानिर्देशअनुसार काम नभएको जनगुनासो आएको उल्लेख गर्दै भाजपाले यस विषयको अध्ययन गरी उचित माध्यमबाट समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।





