खरसाङ: आगामी ८ जूनको दिन हुने पञ्चायत चुनावमा पहाड़को सत्तामा रहेको भागोप्रमोका प्रार्थीहरू निक्कै निर्विरोध रहेका छन्। खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा पहाड़को सत्तामा रहेको भागोप्रमोको प्रार्थीहरू जम्मा २२ जना निर्विरोध रहेको भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले जानकारी गराएका छन्। उनले दिएको जानकारी अनुसार खरसाङ गिध्द पहाड़ समष्टिबाट एकजना पञ्चायत सदस्य र एकजना पञ्चायत समितिमा निर्विरोध रहेका छन् भने सुकना पानीघट्टा समष्टीबाट दुईजना पञ्चायत सदस्यहरू निर्विरोध रहेका छन्। प्रधानले जानकारी गराए अनुसार खरसाङ खण्ड अन्तर्गत टुंग सन्त मेरिज समष्टिबाट ५ जना पञ्चायत सदस्यहरू निर्विरोध रहेका छन्। त्यसरी नै तीनधारे महानदी समष्टिबाट दुईजना सदस्याहरू र एकजना पञ्चायत समितिमा निर्विरोध रहेका छन् भने सिटोङ लाठपञ्जार समष्टीबाट चारजना प्रार्थीहरू निर्विरोध रहेको जानकारी गराएका छन्। यसपालीको पञ्चायत चुनावमा खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा रहेको पञ्चायत सदस्यको १२७ र पञ्चायत समितिको 31 वटा सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू २२ जना निर्विरोध रहेका छन्।











