खरसाङको डाउहिलस्थित तीनमाइल परिसरमा वृक्ष रोपण साथै विरूवा वितरण कार्यक्रम सम्पन्न

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन, वन विभाग, सोशियल फरेष्ट्री खरसाङ रेञ्जको तत्वावधानमा आज डाउहिल तीन माइल क्षेत्रमा एक विशेष कार्यक्रमबीच वृक्ष रोपण साथै विभिन्न प्रजातिका फलफूल अनि वृक्षका विरूवाहरू वितरण कार्यक्रम सम्पन्न भयो। विभागको कार्यालय परिसरमा आयोजित यस समारोहको अध्यक्ष विभागका रेञ्ज अफिसर लक्ष्मन राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा विभागका पूर्व अधिकारी डीटी लेप्चा अनि विशिष्ट अतिथिको रूपमा गोर्खा जन पुस्तकालय, खरसाङका मूल सचिव, वरिष्ठ कवि एवं समाजसेवक विनोद रसाइली, शिक्षक सन्तोष सिंह, तीन माइल एफपीसी अध्यक्ष साथै सयपत्री सेल्फ हेल्प समूहका सचिव रूपा सिंह गदाईली, खरसाङ टेरिटोरियल डिभिजन एफपीसी अध्यक्ष करूणा शेर्पा लगायत अन्यहरूको उपस्थिति रहेको थियो।

तीन माइल क्षेत्रका सयपत्री, शारदेश्वरी अनि छुदेन सेल्फ-हेल्प समूहका पदाधिकारी एवं सदस्यगण लगायत क्षेत्रवासीको व्यापक सहभागिता रहेको यस समारोहमा तीन माइल क्षेत्रमा विभिन्न प्रजातिका फलफूल अनि वृक्षका विरूवाहरू रोपियो अनि विरूवाहरू वितरण गरियो। यस अवसरमा प्रमुख अतिथि डीटी लेप्चाले वन जंगलको महत्व साथै वन विभागको भूमिका अनि वन जंगलको संरक्षण र सम्बर्द्धनमा क्षेत्रवासीको भूमिका र कर्तव्यमाथि विस्तृत रूपमा प्रकाश पारे। उनले वन विभागलाई सबै पक्षको सहयोग आवश्यक रहेको पनि बताए। समारोह अध्यक्ष लक्ष्मन राईले समारोह आयोजनको औचित्य साथै विभागका कार्यहरूमाथि प्रकाश पार्दै वन जंगलको महत्व बुझेर भएको उचित संरक्षण र सम्बर्द्धन गर्न सबै पक्षलाई अघि आउने आह्वान गरे।

About Author

Advertisement