खरसाङ: आचार्य संस्था नयाँ बजार खरसाङको ५०औं स्थापना दिवस नयाँ बजारस्थित टाउन कम्युनिटी हलमा सभापति एलएन निरौलाको अध्यक्षतामा सम्पन्न गरियो। यस समारोहमा प्रमुख अतिथिका रूपमा फुर्बा लामा उपस्थित थिए भने वरिष्ठ अतिथिगणमा भूतपूर्व नगरपालिका अध्यक्ष समीर दीप ब्लोन, संस्थाकै संस्थापक सदस्यगण कुलप्रसाद शर्मा, आरके जोशी, लक्ष्मण शर्मा आदिको उपस्थिति रहेको थियो। उद्घोषिकाद्वय इन्दिरा शर्मा अनि सुप्रिना शर्माले सञ्चालन गरेको यस कार्यक्रमको प्रथम चरणमा दीप प्रज्वलन अनि भूमिदाताको तस्वीरमा मार्ल्यापण पश्चात आचार्य संस्थाका वर्तमान सचिव माणिक लामाले आफ्नो स्वागत सम्भाषण राख्दै यस ऐतिहासिक क्षणमा साक्षी बन्न आइदिन हुने सम्पूर्ण महानुभवहरूलाई स्वागत जनाए। उनले ती दूरदर्शी, सकरात्मक दृष्टिकोण भएका विज्ञ अग्रजहरूलाई आभार प्रकट गरे जसले आचार्य संस्थाको जग बसाले तथापि एउटै संस्थाभित्र पनि विभिन्न मानसिकता, विचारधारा, कार्यशैली भएका व्यक्तिहरू हुने गर्छन्, यस्तोमा एकता, अनुशासन र कर्त्तव्य बोध भए मात्र संस्थालाई जीवन्त राख्न सकिन्छ अनि सामाजिक उत्थानका कार्यहरू निष्पादन गर्न सकिन्छ भनी बताए। सभाध्यक्ष एलएन निरौलाले आफ्नो सम्भाषणमा ती संस्थापक सदस्यहरूको स्मरण गर्दै संस्थाको पृष्ठभूमि छोटकरीमा बताउँदै आजभन्दा ५० वर्ष पूर्वमा रामबहादुर राई र रूपा छेत्रीको सानो घरदेखि आरम्भ गरिएको आचार्य संस्था ८० को दशकमा स्वर्गीय देवबहादुर छेत्रीले भूमि, संस्थालाई दान गरी त्यसमा संस्था भवन निर्माण गर्न हामी सक्षम बन्यौं भनी बताए। तथापि दिवङ्गत संस्थाका संस्थापक सदस्यहरूका नाउँमा एक मिनटको मौन धारण पालन गरियो। त्यसपछि केक काटेर वितरण गरियो। ५०औं स्थापना दिवसको उपलक्ष्मा प्रमुख अतिथि फुर्बा लामाले अबोप्रान्त संस्थाले नोकरीको निम्ति परामर्श अनि शिक्षामा परामर्श चलाउनु पर्ने सल्लाह दिए जसको फाइदा परोक्ष रूपमा विद्यार्थी नानीहरू साथै वर्तमान युवा पी़ढिलाई हुन सक्ने बताए। भूतपूर्व नगरपालिका अध्यक्ष खरसाङ समीर दीप ब्लोनले प्लास्टिकको गोली खेल्नु लगाएर ठूलो मैदानमा फूटबल म्याच खेल्नु सिकाउने श्रेय आचार्य संस्थालाई जाँदछ तथा आचार्य संस्था कुनै समयमा समग्र खरसाङको संस्था रहेको उनले बताए। उनले संस्थाको उत्तरोत्तर विकासको शुभकामना व्यक्त गरे। यस समारोहमा १७ नम्बर वार्डका अन्य तीनैवटा संघ-संस्था क्रमैले दिव्य ज्योति संघ, नवज्योति संघ अनि नारी प्रगति संंस्थाका पदाधिकारीगणको पनि उपस्थिति रहेको भने दिव्य ज्योति संघको तर्फबाट ५०औं स्थापना दिवसको अवसरमा आचार्य संस्थालाई अभिनन्दन पत्र टक्राए साथै तीनैवटा संघ-संस्थाले आ-आफ्नो पक्षबाट थुप्रै शुभकामना व्यक्त गरे। यस अवसरमा वरिष्ठ सदस्यगण लगायत दशौं अनि बाह्रौं श्रेणी उत्तीर्ण विद्यार्थीगणमा सम्बर्द्धना जनाउँदै खदा, प्रमाण पत्र तथा स्मृति चिन्ह्र प्रदान गरियो। आफ्नो सम्भाषणमा वरिष्ठ अतिथि लक्ष्मण शर्माले पनि ती संस्थापक सदस्यहरूको स्मरण गरे। यस अवसरमा विविध रंगारंग कार्यक्रमहरूको पनि आयोजित गरिएको थियो जसमा विद्यार्थीहरूले गीत, नृत्य तथा कविता वाचन गरी सबैलाई मन्त्रमुग्ध तुल्याए। साथै संगीतकार रूपेश रसाइलीको नेतृत्वमा वागिना म्यूजिकल गु्रपले एकाध गीतहरू प्रस्तुत गरे भने धन्यवाद ज्ञापन संस्थाकै सभापति एलएन निरौलाले राख्दै भने कतिपय संस्थापक सदस्यहरूको नाउँ छुट्न गए क्षमा प्रार्थी रहेको बताए तथा संयोजक विक्की मोक्तान, प्रतिलाल राई, सुधामा शर्मा, प्रगिता मोक्तान शर्मा, सहदेव शर्मा, सुरेन शर्मा सबैलाई ज-जसले संस्थाको ५०औं स्थापना दिवस समारोहलाई सफलीभूत तुल्याए उनीहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको अन्त भएको घोषणा गरे।










