कालचिनी खण्ड दिव्याङ्ग संघको आयोजनामा स्वेच्छा रक्तदान शिविर

15df4583-c5fa-4243-b2a0-9683d80c3f0c

कालचिनीः सबल मानिस र संस्थाले मात्र समाज हित र कल्याणको काम गर्न सक्छ भन्ने आधारलाई नकार्दै दिव्याङ्गहरूको समूहले स्वेच्छा रक्तदान शिविर आयोजित गर्दै दिव्याङ्गहरू पनि हरेक कार्य गर्न सक्षम छन् भन्ने कुरालाई प्रमाणित गर्न सफल भएको छ। मङ्गलबार कालचिनीस्थित स्व. काजीमान गोले स्मृति डुवर्स सङ्ग्रहालयमा कालचिनी खण्ड दिव्याङ्ग संघले फाइट ब्याक कोभिड नामक संस्थाको सहयोगितामा स्वेच्छा रक्तदान शिविर सम्पन्न गरेको जानकारी कालचिनी खण्ड दिव्याङ्ग संघको सचिव विवेक कामीले दिएका छन्।
सो अवसरमा आजसम्म १११ पल्ट रक्तदान गरेर रेकर्ड कायम गर्न सफल निमती झोड़ा निवासी रञ्जित मिश्राको प्रमुख उपस्थिति रहेको थियो भने तिनलाई कालचिनी खण्ड दिव्याङ्ग संघको पक्षबाट सम्मान प्रदान पनि गरिएको थियो। यसै क्रममा संघको पक्षबाट दिव्याङ्ग विद्यार्थी अन्जना विश्वकर्मा र दिव्या मंगरलाई पनि सम्वर्द्धना गरिएको थियो। शिविरमा २० भन्दा अधिक यूनिट रगत सङ्ग्रहित गरेर अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा दिएको विवेक कामीले जनाएका छन् भने शिविरलाई सफल बनाउन कालचिनी खण्ड दिव्याङ्ग संघको अध्यक्ष महेश लोहार, उपाध्यक्ष भारती नाग, सहसचिव रिञ्छेन लामा र सल्लाहकार लभकुमार भुजेल लगायत समाजसेवी कौशल गोले र सुशान्त कामीको उपस्थिति रहेको थियो। मूलतः कालचिनी खण्ड दिव्याङ्ग संघको पाँचौँ स्थापना दिवसको उपलक्ष्यमा यो स्वेच्छा रक्तदान शिविर आयोजित गरीएको सचिव विवेक कामीले थप जनाएका छन्।

About Author

Advertisement