नयाँ दिल्ली: संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणको योजना बनाइरहेका भारतीय पर्यटकका लागि अबुधाबीको संस्कृति तथा पर्यटन विभाग (डिसीटी) ले नयाँ र आकर्षक योजना सार्वजनिक गरेको छ। भारतीय पासपोर्ट वाहकहरूलाई लक्षित गर्दै युएईले निःशुल्क प्रवेश भिसा दिने घोषणा गरेको हो।यो योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यो अफरको लाभ लिनका लागि भारतीय पर्यटकले अबुधाबीका सूचीकृत होटलहरूमा कम्तीमा लगातार तीन रातको बसाइ र दुवै तर्फको हवाई टिकट समावेश भएको यात्रा प्याकेज बुक गर्नुपर्नेछ।डिसीटी अबुधाबीका अन्तर्राष्ट्रिय सञ्चालन निर्देशक अब्दुल्ला युसुफका अनुसार युएईका लागि भारत प्रमुख पर्यटकीय बजार हो। भारतीय पर्यटकहरूलाई अबुधाबी भ्रमण गर्न सहज र किफायती बनाउने उद्देश्यले प्रवेश भिसाको सम्पूर्ण खर्च युएई सरकार आफैँले व्यहोर्ने व्यवस्था मिलाइएको हो।









