‘बिग्रिएका राजकुमार’ भन्दै सदन छाडेर नभाग्न चेतावनी
नयाँ दिल्ली: भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय प्रवक्ता एवं सांसद सुधांशु त्रिवेदीले लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीमाथि कडा शब्दमा टिप्पणी गरेका छन्। मंगलबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता त्रिवेदीले गान्धीलाई ‘बिग्रिएका राजकुमार’को संज्ञा दिँदै गृह मन्त्रीले सदनमा हरेक मुद्दाको बुँदागत जवाफ दिन तयार रहेकाले बैठक छाडेर नभाग्न चेतावनी दिएका हुन्।
राहुल गान्धीले प्रधानमन्त्री र गृह मन्त्री आफूसँग सदनमा सामना गर्न नसक्ने दाबी गरेपछि भाजपाले त्यसको कडा प्रतिवाद गरेको हो। त्रिवेदीले विगतमा पनि प्रधानमन्त्री र गृह मन्त्रीले मणपूर मुद्दा वा अविश्वासको प्रस्तावमा जवाफ दिँदा कांग्रेस नेताहरू सदन छाडेर भागेको इतिहास रहेको आरोप लगाए।
प्रवक्ता त्रिवेदीले पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह, सोनिया गान्धी, अरुण जेट्ली र मल्लिकार्जुन खड्गेजस्ता वरिष्ठ नेताहरूले प्रतिपक्षमा छँदा देखाएको संसदीय मर्यादाको स्मरण गराउँदै वर्तमान नेतृत्वले लोकतान्त्रिक प्रणालीलाई बन्धक बनाउन खोजेको बताए। विपक्षी दलले अघि सारेका अधिकांश मागहरू सरकारले सम्बोधन गरिसकेकाले अब सदन सञ्चालनमा अवरोध पुर्याउनुको कुनै औचित्य नरहेको उनको दाबी छ।










