पेम्बा तामाङ अध्यक्षमा चयन
सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ समष्टिको अप्पर सोनादामा गोरामुमोको साङ्गठनिक सभा सम्पन्न भएको छ। अन्तरे राईको अध्यक्षतामा सम्पन्न उक्त सभाले संगठनको सुदृढीकरण तथा विस्तारलाई केन्द्रमा राखेर विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। सभालाई शुद्ध तामाङले सञ्चालन गरेका थिए भने गोरामुमो सोनादा पचेङ समष्टिका अध्यक्ष भुपेन गुरुङ तथा सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्रीको विशेष उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले संगठनलाई अझ सशक्त र जनमुखी बनाउँदै आगामी दिनमा जनसम्पर्क तथा जनसेवामूलक गतिविधिहरूलाई तीव्रता दिने विषयमा जोड दिएका थिए।
सभाले सर्वसम्मतिले पुरानो शाखा कमिटी विघटन गरी नयाँ कार्यसमिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो। त्यस अनुसार नवगठित अप्पर सोनादा शाखा कमिटीको अध्यक्षमा पेम्बा तामाङ, उपाध्यक्षमा राजेन शेर्पा, सचिवमा राजेन तामाङ, सह सचिवमा मिलन राई तथा कोषाध्यक्षमा दिनेश साम्पाङ चयन भएका छन्। यसको साथै १० जना कार्यकारिणी सदस्यहरू समेत सर्वसम्मतिले चयन गरिएको छ। नयाँ चयन भएका पदाधिकारीहरु तथा सदस्यहरूलाई खदा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्दै समष्टि अध्यक्ष भुपेन गुरुङले पार्टीको सिद्धान्त, नीति तथा अनुशासनलाई आत्मसात् गर्दै जाति र माटोको हितका निम्ति समर्पित भएर कार्य गर्न आह्वान गरे। उनले संगठनको एकता, समर्पण र जनविश्वास नै गोरामुमोको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।
यसै अवसरमा सन् १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा सोनादा क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ योद्धा अन्तरे राईलाई विशेष सम्मान जनाइएको थियो। गोरामुमो सोनादा पचेङ समष्टिका प्रतिनिधिहरूले उनलाई खदा लगाएर सम्मान व्यक्त गर्दै आन्दोलन तथा समाजप्रतिको उनको योगदानप्रति कृतज्ञता प्रकट गरेका थिए। सभामा उपस्थित कार्यकर्ताहरूले उनीबाट आशिर्वाद ग्रहण गर्दै आन्दोलनको आदर्श र संघर्षको विरासतलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।सभाको समापन संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउँदै गोर्खा समाजको हक, अधिकार र पहिचानका सवालमा एकजुट भएर अघि बढ्ने संकल्पसहित गरिएको जानकारी प्राप्त भएको छ।










