गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा आयोजित उत्तरपूर्वी परिषद्को ७३औँ पूर्ण बैठकमा सहभागिता जनाउँदै राज्यको समग्र विकास, कृषि, पर्यटन र विशेष गरी राष्ट्रिय राजमार्ग-१० को स्थायी समाधानसहितका महत्त्वपूर्ण विषयहरूलाई जोडदार रूपमा उठाउनुभएको छ। केन्द्रीय गृह मन्त्री एवं उत्तरपूर्वी परिषद्का अध्यक्ष अमित शाहको अध्यक्षतामा सम्पन्न यस गरिमामय बैठकमा केन्द्रीय उत्तरपूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य एम. सिन्दियाका साथै उत्तरपूर्वी राज्यका राज्यपाल र मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो। बैठकमा भएका महत्त्वपूर्ण छलफल र निर्णयहरूबारे मुख्यमन्त्री गोलेले सामाजिक सञ्जाल मार्फत केही तस्बिरहरू साझा गर्दै विस्तृत जानकारी दिनुभएको छ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले ‘विकसित भारत २०४७’ को परिकल्पना अनुरूप सिक्किमका प्रमुख विकास प्राथमिकताहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुभयो। उहाँले राज्यमा प्राङ्गारिक (अर्गानिक) कृषि, पर्यटन, शिक्षा, सीप विकास, एमएसएमईको वृद्धि, नवप्रवर्तन र पूर्वाधार विकासमा विशेष जोड दिनुभएको छ। यसका साथै उत्तरपूर्वी क्षेत्रमा कृषिको मूल्य शृङ्खला र बजार सम्पर्कलाई सुदृढ बनाउनुपर्ने आवश्यकतामाथि प्रकाश पार्दै उहाँले प्राङ्गारिक खेतीको गतिलाई निरन्तरता दिन ‘एमओभीसीडीएनईआर’ योजनालाई जारी राख्न र ‘एनईआईआईपीपी’ सुविधाहरूलाई सन् २०२७ पछि पनि विस्तार गर्न केन्द्र सरकारसँग अनुरोध गर्नुभयो।
उत्तरपूर्वी राज्यहरूमा कृषि र बागवानी क्षेत्रको मूल्य शृङ्खला एवं बजार सम्पर्कमा रहेका कमीकमजोरीहरूलाई सम्बोधन गर्न गठित ‘उच्च-स्तरीय कार्यदल’ को संयोजकको रूपमा मुख्यमन्त्री गोलेले कार्यदलका सिफारिसहरूलाई एक विस्तृत पावरपोइन्ट प्रस्तुतिमार्फत बैठकमा पेश गर्नुभयो। यस रिपोर्टमा उत्तरपूर्वी राज्यहरूमा कृषि उत्पादकत्व बढाउन, बजारको पहुँच सुगम बनाउन, मूल्य अभिवृद्धि गर्न र कृषि क्षेत्रको दिगो विकासका निम्ति रणनीतिक हस्तक्षेपहरू उल्लिखित गरिएको छ।
मुख्यमन्त्री गोलेले सिक्किमले बारम्बार सामना गरिरहेको टिस्टाको बाढीको चुनौती र यसले पुर्याएको क्षतिप्रति बैठकको ध्यानाकर्षण गराउनुभयो। उहाँले सिक्किमको लाइफलाइन मानिने राष्ट्रिय राजमार्ग-१० को कनेक्टिभिटी समस्याको स्थायी समाधान खोज्न, राज्यका प्रमुख सडक, रेल, हवाई र डिजिटल पूर्वाधार परियोजनाहरूलाई छिटो सम्पन्न गर्न र उत्तरी सिक्किमको तरुम चु क्षेत्रमा क्षतिग्रस्त भएको चुङ्थाङ-लाचेन सडकखण्डको तत्काल पुनर्निर्माण र पुनर्स्थापनाका उपायहरू अवलम्बन गर्न जोडदार माग राख्नुभयो।
उत्तरपूर्वी क्षेत्रको प्रचुर सम्भावनालाई उजागर गर्दै किसान, समुदाय र भावी पुस्ताको समृद्धिका निम्ति दिगो, समावेशी र उत्थानशील विकासतर्फ सबैको साझा प्रतिबद्धता यस बैठकमा झल्किएको मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ। उत्तरपूर्वी क्षेत्रको विकासका निम्ति दूरदर्शी नेतृत्व र दृढ प्रतिबद्धताका लागि उहाँले केन्द्रीय गृह मन्त्री अमित शाह र डोनर मन्त्री ज्योतिरादित्य सिन्दियाप्रति हार्दिक आभार प्रकट गर्नुभयो। यसका साथै बैठकको भव्य व्यवस्थापन र न्यानो आतिथ्यका निम्ति मेघालयका मुख्यमन्त्री कोनराड के. साङ्मा, असम र पश्चिम बङ्गाल सरकारका साथै कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सम्पूर्ण अधिकारी, प्रोटोकल टोली र सुरक्षाकर्मीहरूलाई मुख्यमन्त्री गोलेले धन्यवाद ज्ञापन गर्नुभएको छ।










