भारतको ७७ सदस्यीय एथलेटिक्स टोलीमा नीरजको स्थानमा यशवीर सामेल

IMG-20260903-WA0073

नयाँ दिल्ली: एशियाई खेलहरू २०२६-मा भारतको पदक जित्ने प्रबल दावेदारहरूमा सामेल ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा यसपाली आफ्नो खिताब बचाउन ओर्लिनेछैनन्। नीरज चोटले गर्दा एशियाई खेलहरूबाट बाहिर भएका छन्। उनको स्थानमा भारतीय एथलेटिक्स फेडरेशन (एएफआई)-ले ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा काँस्य पदक विजेता यशवीर सिंहलाई टोलीमा सामेल गरेको छ। एशियाई खेलहरूका आयोजन १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म जापानको आइची-नागोयामा हुनेछ। एएफआई-ले बिहीवार आउँदो एशियाई खेलहरूका निम्ति ७७ सदस्यीय ट्र्याक एण्ड फील्ड टोलीको घोषणा गऱ्यो। यशवीरलाई पुरुषहरूका ज्याभलिन थ्रो स्पर्धामा सामेल गरिएको छ। यस स्पर्धामा रोहित यादवले पनि हिस्सा लिनेछन्।। दुईपल्टका ओलम्पिक पदक विजेता नीरजलाई यसअघि ७३ सदस्यीय टोलीमा स्थान दिइएको थियो। उनी जकार्ता (२०१८) र हांगझोउ (२०२३)-मा जितेको आफ्नो एशियाई खेलहरूको खिताबलाई बचाउन ओर्लिने तयारीमा थिए तर चोटले गर्दा उनी टोलीबाट बाहिर भएका छन्। पुरुषहरूका ११० मीटर वाधा दौड़मा भारतलाई अझ एउटा धक्का लागेको छ अनि ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा चोटको शिकार बुने तेजस शिरसे टोलीबाट बाहिर भएका छन्। यसरी शुरुवाती टोलीमा ६ जना नयाँ खेलाड़ीलाई स्थान प्राप्त भएको छ। यसमा २०० मीटर धावक हरिता भद्रा, ४०० मीटर धाविका किरण पहल, पोल भल्टर सिन्धुश्री जी, ट्रिपल जम्पर आई आशा इलांगो, डिस्कस थ्रोअर सान्या यादव र ह्यामर थ्रोअर प्रवीण कुमार सामेल छन्।
भारतीय एथलेटिक्स टोलीमा हांगझोउ एशियाई खेलहरूका १५ जना पदक विजेता र च्याम्पियन सामेल छन्। यसमा ४ जना यस्ता खेलाड़ी छन् जसले २०२३-मा व्यक्तिगत स्वर्ण पदक जितेका थिए अनि अब जापानमा आफ्नो खिताब बचाउन ओर्लिनेछन्। अविनाश साबले, तजिन्दरपाल सिंह तूर, पारुल चौधरी र अन्नू रानी टोलीका हिस्सा हुन्। साबलेले हांगझोउमा ३००० मीटर स्टीपलचेजमा स्वर्ण र ५००० मीटर दौड़मा रजत पदक जितेका थिए। यसरी तजिन्दरपाल एशियाई खेलहरूमा तेस्रो स्वर्ण पदकको खोजमा ओर्लिनेछन्। पारुल चौधरीलाई १५०० मीटर, ३००० मीटर स्टीपलचेज र ५००० मीटरको निम्ति चयन गरिएको छ। यसरी अन्नू रानी ज्याभलिन थ्रो स्पर्धामा खिताब बचाउन ओर्लिनेछिन्। १०० मीटर वाधा दौड़की स्टार ज्योति याराजी पनि टोलीमा छिन्। हांगझोउमा रजत पदक जित्ने ज्योतिको यसपाली स्वर्ण पदक जित्ने लक्ष्य रहनेछ। लंग जम्पमा मुरली श्रीशंकरबाट पनि भारतलाई पदकको आशा रहनेछ। ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा उनले आफ्नो दोस्रो रजत पदक जितेका थिए। यसबाहेक तेजस्विनी शंकर, गुलवीर सिंह, मोहम्मज अफजल, एन्सी सोजन, प्रवीण चित्रवेल र विथ्या रामराज जस्ता हांगझोउका पदक विजेताहरू पनि टोलीमा सामेल छन्। हांगझोउ एशियाई खेलहरूमा भारतले एथलेटिक्समा सर्वाधिक पदक जितेको थियो। भारतीय एथलीटहरूले जम्मा २९ वटा पदक जितेका थिए, जसमा ६ वटा स्वर्ण, १४ वटा रजत र ९ वटा काँस्य पदक सामेल थियो। यसपाली पनि एथलेटिक्समा भारतले ठूलो संख्यामा पदक जित्ने सम्भावना रहेको छ।

About Author

Advertisement