भारतमा आईएसआईएसको ‘बायोटेरर’ षड्यन्त्र

IS-K-a

रिसिनद्वारा विष फैलाउने योजना, राष्ट्रसङ्घको प्रतिवेदनले बढाए चिंता

​नयाँ दिल्ली: भारतमा इस्लामिक स्टेट (आईएसआईएस) सँग जोडिएको जैविक आतङ्कवादी (बायोटेरर) षड्यन्त्रको खुलासा भएपछि सुरक्षा एजेन्सीहरूको चिन्ता गम्भीर रूपमा बढेको छ। जाँच एजेन्सीहरूका अनुसार सार्वजनिक स्थलहरूमा ‘रिसिन’ नामक घातक विषालु पदार्थको प्रयोग गरी ठूलो मात्रामा विष फैलाउने योजना बनाइएको थियो। संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को ‘एनालिटिकल सपोर्ट एन्ड स्याङ्क्सन्स मोनिटरिङ टिम’ को ताजा प्रतिवेदनमा आईएसआईएस र अल-कायदाले रासायनिक तथा जैविक हतियार हासिल गर्न निरन्तर चासो देखाइरहेको उल्लेख गरिएपछि यो खतरा अझ गम्भीर बनेको छ।
​भारतमा यस षड्यन्त्रको जग पहिले नै देखिएको थियो। नोभेम्बर २०२५ मा गुजरात एन्टी टेररिजम स्क्वाडले हैदराबादका डाक्टर सैयद अहमद मोहिउद्दिन र उत्तर प्रदेशका दुई अन्य आरोपीहरूलाई गिरफ्तार गरेको थियो। पछि जनवरी २०२६ मा राष्ट्रिय जाँच एजेन्सी (एनआईए)ले यसको अनुसन्धान आफ्नो हातमा लिएर मे २०२६ मा तीनै जनाविरुद्ध आरोपपत्र (चार्जशिट) दर्ता गरेको थियो। मुख्य आरोपी मोहिउद्दिनले हैदराबादस्थित आफ्नो घरलाई गोप्य प्रयोगशालामा बदलेर विदेशमा रहेका ISIS ह्यान्डलरहरूको निर्देशनमा काम गरिरहेको र टोल प्लाजाबाट चार लिटर क्यास्टर आयल तथा गैरकानुनी हतियारसहित पक्राउ परेको अनुसन्धानमा खुलेको छ।
​अनलाइन माध्यमबाट अतिवादी प्रचार र प्राविधिक जानकारी फैलाएर जैविक विष तयार पार्ने कोसिस गरिएकाले सुरक्षा निकायहरूसामु दोहोरो चुनौती थपिएको छ। परम्परागत आतङ्ककारी आक्रमणबाहेक वैज्ञानिक ज्ञान र जैविक सामग्रीको प्रयोग गरी ठूलो विनाश गराउने क्षमता हासिल गर्ने आईएसआईएस को प्रयासलाई रोक्न भारतीय सुरक्षा एजेन्सीहरू उच्च सतर्कताका साथ लागिपरेका छन्।

About Author

Advertisement