नयाँ दिल्ली: चोट-आघातको समस्याहरूले गर्दा लगभग एक सालसम्म खेलबाट बाहिर रहने भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले उनको निम्ति गत १० महिना निक्कै चुनौतीपूर्ण रहेको बताएका छन्। उनले त्यस समयलाई यस्तो चरण बताएका छन्, जसको उनले कहिले कल्पना पनि गरेका थिएनन् । दुईपल्टका ओलम्पिक पदक विजेता २८ वर्षीय खेलाड़ीले गत हप्ता ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा रजत पदक जितेर आफ्नो पदकहरूको संग्रहमा अझ एउटा उपलब्धि जोड़े। उनलाई मुख्य रूपले फिलाको मांसपेशीको चोट र केही अन्य शारीरिक समस्याहरूले सताएको थियो। चोटले गर्दा नै नीरजले सत्रको ढिलो गरी शुरुवात गरे तर ग्लास्गोमा भएको राष्ट्रमण्डल खेलहरूमा ८५.८३ मीटरको सर्वश्रेष्ठ थ्रो गरी रजत पदक जितेर उनले आफ्नो लय हासिल गरे। नीरजले सोशल मीडियामा राष्ट्रमण्डल खेलहरूको भीडियो साझा गर्दै लेखेका छन्, केही भालाले लामो दूरी तय गर्छ अनि केही क्षण पूरा यात्राको भार आफूसँग लगेर जान्छ। गत १० महिना मेरो निम्ति एउटा यस्तो परीक्षा थियो, जसको मैले कहिले कल्पना पनि गरेको थिइनँ। धेरै चोटबाट मुक्त हुनु, आफ्नो शरीरलाई फेरि मजबूत बनाउनु, फेरि लय हासिल गर्नु अनि त्यस समय धैर्य धारण गर्नु जब म केवल प्रतियोगितामा ओर्लिन चाहन्थे। म हरेक दिन अभ्यास गरिरहेको थिएँ तर यस साल मलाई खेल्ने मौका प्राप्त हुनेछ या छैन भन्ने नै थाहा थिएन। नीरजले २०१८ गोल्ड कोस्ट राष्ट्रमण्डल खेलहरूमा ८६.४७ मीटरको थ्रो गरी स्वर्ण पदक जितेका थिए तर चोटले गर्दा २०२२-मा बर्मिंघम खेलहरूबाट बाहिर रहेका थिए। गत वर्ष सेप्टेम्बरमा विश्व च्याम्पियनशीपको ठीक अघि नीरजको कम्मरको तल्लो हिस्सामा चोट लागेको थियो अनि राष्ट्रमण्डल खेलहरू अघि उनले केवल एउटा प्रतियोगिता (दोहा डायमण्ड लीग) मा हिस्सा लिएका थिए। ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खराब मौसमले गर्दा मुश्किल परिस्थितिहरूबीच नीरज दोस्रो स्थानमा रहे। श्रीलंकाका रुमेश थरंगा पथिरागेले ८९.७५ मीटरको सर्वश्रेष्ठ थ्रो गरी स्वर्ण पदक जिते। पूर्व विश्व च्याम्पियन नीरजले आफ्नो पुनरागमनमा सहायता गर्ने सहयोगी टोली प्रति आभार व्यक्त गर्दै भनेका छन्, यस स्तरमा फेरि प्रतिस्पर्धा गर्न पाएर खुशी छु। यो सब म एक्लोको प्रयासमा सम्भव थिएन। म ती सबै मानिसहरू प्रति आभारी छु, जसले मेरो क्षमतामाथि भरोसा कायम राखे। म आफ्नो फिजियो ईशान मारवाहा र प्रशिक्षक जय चौधरीलाई विशेष रूपले धन्यवाद दिन चाहन्छु।











