गृह मन्त्रालयलाई २२.९० करोड लाभांश हस्तान्तरण
नयाँ दिल्ली: सहकारी बैंकिङ क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै रेपको बैंकले वित्तीय वर्ष २०२५-२६ मा १६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा बैंकको इतिहासकै अहिलेसम्मकै उच्च (रेकर्ड) रहेको छ।
नयाँ दिल्लीस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका अध्यक्ष ई. सन्थानम, निर्देशक थङ्गराजु र प्रबन्ध निर्देशक ओ.एम. गोकुल सम्मिलित प्रतिनिधिमण्डलले केन्द्रीय गृह मन्त्री अमित शाहलाई २२.९० करोड रुपैयाँको लाभांश चेक हस्तान्तरण गरेको छ।
गृह मन्त्रालयको तर्फबाट लाभांश चेक ग्रहण गर्दै गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत रेपको बैंक व्यवस्थापन र कर्मचारीहरूलाई बधाई ज्ञापन गरेका छन्। “वित्तीय वर्ष २०२५-२६ मा १६९ करोड खुद नाफा कमाएर सहकारी बैंकिङ क्षेत्रमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेकोमा रेपको बैंक व्यवस्थापनलाई बधाई,” गृहमन्त्री शाहले भनेका छन्, “गृह मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेको यस बैंकको सफलताले यसको व्यावसायिकता र उत्कृष्टतालाई सिद्ध गरेको छ।”
गृह मन्त्रालय अन्तर्गत सञ्चालित रेपको बैंकले पछिल्ला वर्षहरूमा वित्तीय सूचकाङ्कहरूमा निरन्तर सुधार गर्दै लगेको छ।









