“पीडितको दुःखमा सरकार साथमा छ”: मुख्यमन्त्री
गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले राज्यका विभिन्न बाढी प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण गर्दै बाढीपीडित जनतासँग प्रत्यक्ष कुराकानी गरेका छन्। बाढीको जलस्तर घटे पनि प्रभावित क्षेत्रका बासिन्दाहरूको पीडा र क्षति अझै कायमै रहेको मुख्यमन्त्रीले बताएका छन्।
मुख्यमन्त्री शर्माले शिवसागर र चराईदेव जिल्लाका बाढीग्रस्त क्षेत्रहरूको भ्रमण गरी स्थानीय बासिन्दाहरूको समस्या र दुःखबारे जानकारी लिएका हुन्।
सामाजिक सञ्जालमा आफ्ना भावनाहरू व्यक्त गर्दै मुख्यमन्त्री सरमाले लेखेका छन्, “बाढीको पानी घट्दैछ… तर बाढीपीडितहरूको आँखामा देखिएको दुःख के यति सजिलै कम होला र? आज म शिवसागर र चराईदेवका धेरै बाढी प्रभावित क्षेत्रहरूमा गएँ र त्यहाँका बासिन्दाहरूसँग कुरा गरेँ।”
भ्रमणका क्रममा जनताले भोगेको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले थपेका छन्, “कसैले आफ्ना प्रियजन गुमाएका छन्, कसैले आफ्नो सम्पूर्ण परिवार त कसैले वर्षौँको कडा मिहिनेतले बुनेको सपना गुमाएका छन्। प्रत्येक क्षेत्रमा एउटा दर्दनाक कथा महसुस भयो, मेरो हृदय भारी भएको छ।”

यस कठिन परिस्थितिमा सरकार बाढीपीडितहरूकै साथमा रहेको प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री सरमाले पीडितहरूलाई धैर्य धारण गर्न आग्रह गरेका छन्। “यो कठिन समयमा तपाईंहरू एक्लो हुनुहुन्न। तपाईंहरूको पीडा नै हाम्रो पीडा हो। हाम्रो सरकार हिजो पनि तपाईंसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ,” उनले भनेका छन्।
मुख्यमन्त्री शर्माले भ्रमणका क्रममा डुङ्गा चढेर बाढीग्रस्त क्षेत्रको अवलोकन गरिरहेको, स्थानीयहरूसँग भेटघाट गर्दै समस्या सुनिरहेको र राहत तथा उद्धार टोलीसँग छलफल गरिरहेको दृश्यहरू कैद गरिएका तस्बिरहरू पनि सार्वजनिक गरेका छन्।









