मस्को: दक्षिणी रसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र क्रास्नोदारस्थित आर्खिपो-ओसिपोभ्का गाउँको भीडभाडयुक्त बीच (रिसोर्ट) मा ड्रोन खस्दा ३ बालबालिकासहित ७ जनाको मृत्यु भएको छ। घटनामा ४० जना घाइते भएको र १७ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय गभर्नर वेनियामिन कोन्द्रात्येभले पुष्टि गरेका छन्।
स्थानीय अधिकारीहरूका अनुसार कालो सागर (Black Sea) किनारमा रहेको उक्त रिसोर्टमा पर्यटकहरू छुट्टी मनाइरहेका बेला यो दुर्घटना भएको हो। आक्रमणअघि कुनै चेतावनी सायरन नबजेको र गोलीबारीको आवाज सुनिएकाले एयर डिफेन्स वा सिग्नल जाम गर्ने प्रयासका कारण ड्रोन बीचमा खसेको अनुमान गरिएको छ। रसियाले यसलाई युक्रेनको जानीजानी गरिएको नागरिक लक्षित आक्रमण भनेको छ भने युक्रेनका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन।








