नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षा प्रश्नपत्र लीक प्रकरणमा दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएपछि सामाजिक अभियन्ता सोनम वाङचुकले २६औँ दिनमा आफ्नो भोक हडताल अन्त्य गरेका छन्।
गुरुवार मध्यराति केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डा र केन्द्रीय मन्त्री जितेन्द्र सिंहको उपस्थितिमा मेदान्ता अस्पतालमा वाङचुकले अनशन तोडेका हुन्।
’नीट’ प्रश्नपत्र लीकविरुद्ध र शिक्षा प्रणालीमा पारदर्शिताको माग राख्दै वाङचुक गत असार १४ (जुन २८) देखि अनिश्चितकालीन भोक हडतालमा थिए। अनशनका क्रममा असार २४ (जुलाई १८) मा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सफदरजङ्ग अस्पताल भर्ना गरिएको थियो। पछि दिल्ली उच्च अदालतको अनुमतिमा उनलाई मेदान्ता अस्पताल सारिएको हो।
अनशन अन्त्य गरेपछि वाङचुकले भने, “विभिन्न राजनीतिक दलका ६५ सांसदको आग्रह, सरकारसँगको संवाद र देशमा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै अनशन तोड्ने निर्णय लिएको हुँ।” उनले आफ्ना समर्थकहरूलाई शान्ति कायम राख्न र सतर्क रहन समेत अपिल गरेका छन्।
यसअघि प्रधानमन्त्री मोदीले एक भिडियो सन्देश जारी गर्दै युवाको भविष्यसँग खेलवाड गर्नेहरूलाई कडा सजाय दिइने र यसका लागि मन्त्रिपरिषद्ले छिट्टै ठोस निर्णय लिने बताएका थिए। सरकारले यस्ता प्रकरणको छिटो सुनुवाइका लागि ‘फास्ट ट्र्याक कोर्ट’ गठन गर्ने तयारी समेत गरेको छ।









