गान्ताेक: सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरले गुरू रिन्पोछे थ्रुङ्कर छेचुका पावन अवसरमा सम्पूर्ण सिक्किमबासी तथा बौद्ध धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राजभवन (लोकभवन) बाट जारी शुभकामना सन्देशमा राज्यपाल माथुरले महान आध्यात्मिक गुरू पद्मसम्भव (गुरू रिन्पोछे) को जन्मोत्सवको रूपमा मनाइने यो दिन सिक्किमका लागि विशेष आस्थाको प्रतीक रहेको उल्लेख गरेका छन्।
आफ्नो सन्देशमा उनले भनेका छन्, “आठौँ शताब्दीमा गुरू रिन्पोछेले हाम्रो पवित्र भूमि ‘बयुल द्रेमोजोङ’ (चामलको लुकेको उपत्यका) मा पाइला टेकेर पावन बनाउनुभएको थियो र हिमाली क्षेत्रमा बौद्ध धर्मको प्रचारप्रसार गर्नुभएको थियो। उहाँलाई हामी सिक्किमबासी आफ्ना संरक्षक सन्तका रूपमा श्रद्धाका साथ पूज्छौँ।”
गुरू रिन्पोछेका उपदेशहरूले मानिसलाई शान्ति, करुणा, आपसी भाइचारा र नैतिक मूल्यको बाटो देखाउने उल्लेख गर्दै राज्यपालले सिक्किम ‘विविधतामा एकता’ को जीवन्त उदाहरण भएको बताए। यहाँ सबै सम्प्रदाय र धर्मका मानिसहरूले एकअर्काको संस्कृतिको सम्मान गर्दै हातेमालो गरिरहेको उनले उल्लेख गरे।
यस पावन अवसरमा गुरू रिन्पोछेले देखाउनुभएको करुणा र सद्भावको मार्गमा हिँड्ने सङ्कल्प लिन आग्रह गर्दै राज्यपालले राज्यमा सुख, शान्ति, समृद्धि र सामूहिक प्रगति रहोस् भनी प्रार्थना गरेका छन्।









