गान्ताेक: गुरू रिन्पोछेको पावन एवं शुभ जन्मोत्सव ‘थ्रुङ्कर छेचु’का अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्पूर्ण सिक्किमबासीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा सिक्किमका संरक्षक सन्त गुरू रिन्पोछेको ज्ञान, करुणा र चेतनासम्बन्धी गहिरो उपदेशले राज्यमा अमिट आध्यात्मिक विरासत छोडेको उल्लेख गरिएको छ। पवित्र भूमि सिक्किममा गुरू रिन्पोछेको ऐतिहासिक योगदानले मानिसहरूमा आस्था र विश्वास बढाउनुका साथै सांस्कृतिक धरोहरलाई मजबुत बनाउँदै भावी पुस्तालाई शान्ति र धर्मको मार्गमा हिँड्न प्रेरणा दिइरहेको बताइएको छ।
”यस पावन अवसरमा हामी गुरू रिन्पोछेप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ र हाम्रो प्रिय सिक्किम तथा यहाँका जनतामा उहाँको निरन्तर आशीर्वाद रहोस् भनी प्रार्थना गर्दछौँ,” मुख्यमन्त्रीको सन्देशमा भनिएको छ।
मुख्यमन्त्रीले यो पवित्र पर्वले प्रत्येक घरमा शान्ति, सुख, राम्रो स्वास्थ्य र समृद्धि ल्याओस् तथा सम्पूर्ण प्राणीहरूको कल्याणका लागि भाइचारा, करुणा र सद्भाव कायम रहोस् भन्ने कामनासमेत गरेका छन्।











