तेहरान: इरानले यमनका हूती विद्रोहीहरूलाई ठूलो मात्रामा आधुनिक हतियार, सैन्य सामग्री तथा सैन्य सल्लाहकार पठाएको दाबी गरिएको छ। लाल सागरमा जहाजहरूमाथि भइरहेको आक्रमणको क्षमता बढाउन र सो जलमार्गमा नियन्त्रण कायम गर्ने उद्देश्यले इरानले इस्लामी रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) का कमाण्डरसहित मिसाइल र ड्रोनका पुर्जाहरू यमन पुर्याएको समाचार सार्वजनिक भएको छ।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेहरानबाट यमनका लागि उडान भरेको कार्गो विमानमार्फत सैन्य अधिकारी र उपकरणहरू पुर्याइएको हो। महान एयरको उक्त उडानमा आइआरजीसीका वरिष्ठ कमाण्डरसहित १० देखि २१ जना अधिकारीहरू सवार रहेको दाबी गरिएको छ। हूतीहरूलाई नयाँ मिसाइल प्रणाली सञ्चालन गर्ने तालिम दिन, सैन्य अपरेसनमा सहयोग गर्न र गतिविधि सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गर्न विमानमार्फत सुन समेत पठाइएको दाबी स्रोतहरूले गरेका छन्।सुरुमा हूतीको कब्जामा रहेको यमनी राजधानी साना जान लागेको उक्त विमानलाई साउदी समर्थित यमनी सरकारको आक्रमणको जोखिमका कारण रातो सागरको बन्दरगाह शहर होदेइदाहतर्फ मोडिएको थियो। गुप्तचर तथा सुरक्षा विश्लेषकहरूका अनुसार विमानमा मध्यम र छोटो दूरीका मिसाइल तथा ड्रोनका पुर्जाहरू रहेका थिए, जुन यसअघि साउदी अरब र संयुक्त अरब इमिरेट्समाथि गरिएका आक्रमणहरूमा प्रयोग भएका प्रविधिसँग मिल्दाजुल्दा छन्।यद्यपि, इरानको विदेश मन्त्रालयले हूती विद्रोहीहरूलाई मिसाइल वा सैन्य सहयोग उपलब्ध गराएको दाबीलाई निरन्तर अस्वीकार गर्दै आएको छ। हूती समूहले पनि आफू इरानको प्रतिनिधि नरहेको र आफ्ना हतियार आफैँ निर्माण गर्ने दाबी गर्दै आएको छ। विगत एक दशकदेखि साउदी समर्थित सरकारविरुद्ध गृहयुद्ध लडिरहेका हूतीहरूले हालैका महिनाहरूमा लाल सागर भई आवतजावत गर्ने व्यावसायिक जहाजहरूलाई निशाना बनाउँदै आएका छन्।








