वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने बहुसंख्यक वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) थप गर्ने घोषणा गरेका छन्। क्यानडाका पछिल्ला व्यापारिक कदम र नीतिप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले सोमबार उक्त निर्णय लिएका हुन्।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिरा आयातमा असमान व्यवहार गरेको आरोप लगाए। उनले सन् १९३० को व्यापार ऐनको धारा ३३८ अन्तर्गत रहेर नयाँ ट्यारिफसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
नयाँ भन्सार दर ३० दिनपछि लागू हुने बताइएको छ। यो निर्णयले दैनिक उपभोग्य वस्तु (जस्तै मदिरा र हक्की स्टिक) देखि औद्योगिक सामग्रीहरू (जस्तै सिमेन्ट) सम्मलाई असर पार्नेछ। यद्यपि, ऊर्जा उत्पादन, पोटास, माछा र अत्यावश्यक खनिज पदार्थलाई भने यसबाट छुट दिइएको छ।
यसअघि संयुक्त राज्य अमेरिका-मेक्सिको-क्यानडा सम्झौता (यूएसएमसीए) अन्तर्गत भन्सार छुट पाएका वस्तुहरूसमेत नयाँ करको दायरामा पर्नेछन्।
अमेरिकाले सन् २०२० को सो सम्झौता नवीकरण नगरेकाले दुई देशबीच नयाँ चरणको वार्ता सुरु हुने संकेत देखिएको छ।
क्यानडाको प्रतिक्रिया
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै दुई देशबीचको मुक्त व्यापार सम्झौताको मर्मविपरीत अमेरिका अघि बढेको आरोप लगाएका छन्। उनले भनेका छन्, “हामी खुला र निष्पक्ष व्यापारका पक्षमा छौँ। यो व्यापारिक विवादले विशेष गरी अमेरिकी नागरिक र परिवारहरूमाथि महँगीको भार थप्नेछ।” कार्नीले अमेरिकी प्रशासनसँग छिट्टै वार्तामा बस्ने तयारी भइरहेको समेत जानकारी दिएका छन्।










