क्यानडाका उत्पादनमा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

6271b67b-e87e-4096-8a24-47b4a97b55b1

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने बहुसंख्यक वस्तुहरूमा ५० प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) थप गर्ने घोषणा गरेका छन्। क्यानडाका पछिल्ला व्यापारिक कदम र नीतिप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले सोमबार उक्त निर्णय लिएका हुन्।
​ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले क्यानडाले अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिरा आयातमा असमान व्यवहार गरेको आरोप लगाए। उनले सन् १९३० को व्यापार ऐनको धारा ३३८ अन्तर्गत रहेर नयाँ ट्यारिफसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
​नयाँ भन्सार दर ३० दिनपछि लागू हुने बताइएको छ। यो निर्णयले दैनिक उपभोग्य वस्तु (जस्तै मदिरा र हक्की स्टिक) देखि औद्योगिक सामग्रीहरू (जस्तै सिमेन्ट) सम्मलाई असर पार्नेछ। यद्यपि, ऊर्जा उत्पादन, पोटास, माछा र अत्यावश्यक खनिज पदार्थलाई भने यसबाट छुट दिइएको छ।
​यसअघि संयुक्त राज्य अमेरिका-मेक्सिको-क्यानडा सम्झौता (यूएसएमसीए) अन्तर्गत भन्सार छुट पाएका वस्तुहरूसमेत नयाँ करको दायरामा पर्नेछन्।
अमेरिकाले सन् २०२० को सो सम्झौता नवीकरण नगरेकाले दुई देशबीच नयाँ चरणको वार्ता सुरु हुने संकेत देखिएको छ।
​क्यानडाको प्रतिक्रिया
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै दुई देशबीचको मुक्त व्यापार सम्झौताको मर्मविपरीत अमेरिका अघि बढेको आरोप लगाएका छन्। उनले भनेका छन्, “हामी खुला र निष्पक्ष व्यापारका पक्षमा छौँ। यो व्यापारिक विवादले विशेष गरी अमेरिकी नागरिक र परिवारहरूमाथि महँगीको भार थप्नेछ।” कार्नीले अमेरिकी प्रशासनसँग छिट्टै वार्तामा बस्ने तयारी भइरहेको समेत जानकारी दिएका छन्।

About Author

Advertisement