नयाँ दिल्ली: भोक हड्तालमा रहेका लद्दाखका प्रसिद्ध वातावरणविद् सोनम वाङचुकलाई उपचारका लागि सफदरजङ्ग अस्पतालबाट गुरुग्रामस्थित मेदान्ता अस्पताल स्थानान्तरण गर्न दिल्ली उच्च अदालतले अनुमति दिएको छ। वाङचुककी पत्नी गीताञ्जली आङमोले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले मंगलबार उक्त आदेश दिएको हो।
नीट परीक्षाको प्रश्नपत्र आउट (लीक) प्रकरणलाई लिएर विगत २४ दिनदेखि भोक हड्तालमा रहेका वाङचुकको स्वास्थ्य अवस्था बिग्रेपछि दिल्ली पुलिसले उनलाई सफदरजङ्ग अस्पतालमा भर्ना गराएको थियो। यसअघि एकल इजलासले निजी अस्पताल सार्ने माग खारेज गरेपछि उनकी पत्नीले माथिल्लो बेन्चमा पुनरावेदन गरेकी थिइन्।
सुनुवाइका क्रममा केन्द्र सरकारले वाङचुकलाई मेदान्ता अस्पताल लैजान आफ्नो कुनै आपत्ति नरहेको अदालतसमक्ष स्पष्ट पारेको छ। तर, सरकारले उनी लगातार चिकित्सकको निगरानीमा रहनुपर्ने र डाक्टरको सल्लाहबिना डिस्चार्ज गर्न नपाइने सर्त राखेको छ।
अदालतले सफदरजङ्ग अस्पताललाई वाङचुकका सम्पूर्ण मेडिकल रेकर्डहरू मेदान्ता अस्पतालमा बुझाउन निर्देशन दिएको छ।
यसैबीच, नीट परीक्षा रद्द र शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले नयाँ दिल्लीको जन्तर मन्तरमा प्रदर्शन जारी राखेको छ। पार्टीका संस्थापक अभिजीत दिपकेले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।









