गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किम प्रदेशका अध्यक्ष डी.आर. थापाले आज अपर बर्तुक निर्वाचन क्षेत्रका मण्डल तथा बुथ स्तरका कार्यकर्ताहरूसँग एक महत्त्वपूर्ण समीक्षा बैठक गर्नुभएको छ।
बैठकका क्रममा प्रदेश अध्यक्ष थापाले उक्त निर्वाचन क्षेत्रमा पार्टीको साङ्गठनिक गतिविधि, बुथ कमिटीहरूको कार्यप्रणाली र हालैका राजनीतिक गतिविधिहरूबारे विस्तृत समीक्षा गर्नुभयो। कार्यकर्ताहरूसँगको अन्तर्क्रियामा उनीहरूका अनुभव र सुझावहरू सुन्दै थापाले सङ्गठनलाई तल्लो तहसम्म अझ सुदृढ र गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष थापाले सबै कार्यकर्ताहरूलाई एकजुट भएर सङ्गठनको विस्तारमा लाग्न र जनताका समस्याहरू पहिचान गरी जनहितका कार्यहरूलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले पार्टीको सिद्धान्त र जनमुखी नीतिहरूलाई प्रत्येक घर-घरसम्म पुर्याउन कार्यकर्ताहरूले आगामी दिनमा अझ बढी परिश्रम र लगनशीलताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।











