सोरेङमा उद्यमी बन्न चाहने युवाहरूका लागि सचेतना कार्यक्रम सम्पन्न

d69595b9-9ff7-4ae7-934d-aeef954e1e04

सोरेङ: सिक्किम आन्त्रप्रेन्योरसिप एन्ड इकोनोमिक डेभलपमेन्ट सेल र वाणिज्य तथा उद्योग विभाग अन्तर्गतको जिल्ला उद्योग केन्द्र सोरेङको संयुक्त तत्वावधानमा आज एक विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। सोरेङ नगर पञ्चायत हलमा आयोजित यस कार्यक्रमको मुख्य उद्देश्य बेरोजगार युवा, नवउद्यमी र स्थानीय व्यवसायीहरूलाई राज्य तथा केन्द्र सरकारका विभिन्न स्वरोजगारमुखी योजनाहरूबारे जानकारी गराउनु रहेको थियो।
​कार्यक्रममा युवाहरूलाई उद्यमशीलता, रोजगार सिर्जना र दिगो आर्थिक विकासका लागि उपलब्ध वित्तीय सहायता, अनलाइन मार्केटिङ र व्यावसायिक मार्गदर्शन (मेन्टरसिप) सम्बन्धी विस्तृत जानकारी दिइयो।
​’सिड सेल’ का साङ्गठनिक सचिव तासी ओङदुप लेप्चाले स्वागत मन्तव्य राख्दै राज्यमा बलियो उद्यमशील वातावरण निर्माणका लागि नवप्रवर्तन र सरकारी योजनाहरूको सही सदुपयोग आवश्यक रहेको बताउनुभयो।
​प्राविधिक सत्रमा जिल्ला उद्योग केन्द्र (सोरेङ) की महाप्रबन्धक अनुला गुरुङले ‘प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम’ (PMEGP), उद्योग दर्ता र व्यावसायिक ऋण प्रक्रियाबारे व्यावहारिक जानकारी दिनुभयो। यसैगरी, ‘क्रेडिट आउटरिच एन्ड फेसिलिटेसन युनिट’ की रिसोर्स पर्सन हेमला राईले वित्तीय साक्षरता, धन व्यवस्थापन र व्यापारिक योजनामा वित्तीय निर्णयको महत्त्वबारे कार्यपत्र प्रस्तुत गर्नुभयो।
​कार्यक्रममा सहभागीहरू र विज्ञहरूबीच खुला अन्तर्क्रिया समेत भएको थियो, जहाँ युवाहरूले आफ्ना जिज्ञासा मेटेका थिए। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित सोरेङ नगर पञ्चायतकी अध्यक्ष दिना हाङ्मा सुब्बाले युवाहरूलाई आत्मनिर्भर बन्न र सरकारी सुविधाहरूको अधिकतम लाभ उठाउन आह्वान गर्नुभयो।
​’सिड सेल’ का फाइनान्स एक्जुकेटिभ प्रणित प्रधानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय काउन्सिलरको पनि उपस्थिति थियो भने नगर पञ्चायतका काउन्सिलरले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।

About Author

Advertisement